बजार पुँजीकरणमा नबिललाई नेपाल इन्भेष्टमेन्ट बैंकले जित्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत कम्पनीमा बजार पुँजीकरणको आधारले नबिल बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले जितेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
नबिल बैंकले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर २२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकभन्दा अगाडि बोनस र नगद लाभांश प्रस्ताव गरेको नबिलको सेयर बोनस सेयर प्रस्ताव गर्दापनि बढ्न सकेन । लाभांश घोषणा गर्नु अगाडि नबिलको सेयर मूल्य प्रतिकित्ता ८६३ रुपैयाँ थियो भने बजार पुँजीकरण ६९ अर्ब ३७ करोड रुपैयाँ थियो ।

१२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेपछि नबिलको सेयर घट्दो क्रममा रहेको छ । लाभांश प्रस्तावको दिनपछि बुधवारसम्म आउदा नबिलको सेयर मूल्य घट्दो क्रममा छ ।

बुधवारको कारोबारपछि नबिलको सेयर मूल्य प्रतिकित्ता ८५५ मा आएको छ । बजार पुँजीकरण ६८ अर्ब ७३ करोड रुपैयाँ छ । अर्थात बैंकको बजार पुँजीकरण मात्र ६४ करोड ३० लाख रुपैयाँले घटेको छ ।

अब नेपाल इन्भेष्टमेन्ट बैंकलाई हेरौ । इन्भेष्टमेन्टले लाभांश दिएपछि सेयर मूल्य ह्वातै बढ्यो । लाभांश प्रस्ताव गरेको जानकारी नेप्सेलाई दिएको दिन नै यसको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँले बढेको थियो । लाभांश घोषणा गर्नु अगाडि नेपाल इन्भेष्टमेन्टको सेयर मूल्य प्रतिकित्ता ६१९ रुपैयाँ थियो । बजार पुँजीकरण ६५ अर्ब ७७ करोड थियो ।

अहिले नेपाल इन्भेष्टमेन्टको सेयर मूल्य ६५० पुगेको छ भने बजार पुँजीकरण ६९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । लाभांशको घोषणापछि अहिलेसम्म ३ अर्ब २९ करोड रुपैयाँले बढेको छ ।

चुक्ता पुँजीको आधारमा भने नेपाल इन्भेष्टमेन्ट नबिलभन्दा अगाडि थियो । तर,नाफामा भने नबिल नै अगाडि आउने गरेको थियो । कुनै त्रैमासमा भने नबिलको भन्दा नेपाल इन्भेष्टमेन्टको नाफा बढी हुने गरेको थियो ।

बजार पुँजीकरणको आधारले नबिलभन्दा अगाडि गएपछि पुँजीकरणको आधारले दोस्रो ठूलो कम्पनी नेपाल इन्भेष्टमेन्ट बैंक बनेको छ । पहिलो कम्पनी नेपाल टेलिकम हो । जसको बजार पुँजीकरण १ खर्ब १५ अर्ब रुपैयाँ छ ।


क्लिकमान्डु