११ अर्बको लागतमा केबलकार बन्दै, पञ्चासेमा रिसोर्ट र पर्यटकीय पूर्वाधारपनि निर्माण हुने



पर्वत । गण्डकी प्रदेश तथा पोखरा आसपासको क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्यसहित प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पञ्चासेमा केबलकार, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ ।

पोखरा महानगरपालिका-२३ घाँटीछिना देखि पर्वतको पञ्चासेसम्म केबलकार सहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको पञ्चासे केबलकार एण्ड टुर्सका अध्यक्ष रामचन्द्र शर्माले बताए । केबलकार गण्डकी प्रदेशको ‘सपना परियोजना’ भएको उनी बताउँछन् ।

‘‘पोखरा तथा आसपासको पर्यटन प्रवद्र्धन तथा धार्मिक गन्तव्यको विकासमा यो परियोजनाले विशेष योगदान पुर्याउनेछ,’’ उनले भने । आरकेडी रियल स्टेट एण्ड कन्ष्ट्रक्सनको सहायक कम्पनी पञ्चासे केबलकार एण्ड टुर्सले केबलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो । १० अर्ब ७८ करोडको लागतमा केबलकार निर्माण शुरु भएको उनले बताए ।

विसं २०७६ माघभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी केबलकार निर्माणको काम शुरु हुने उनले जानकारी दिए । ‘‘शुरु भएको पाँच वर्षमा निर्माण सम्पन्न हुनेछ,’’ उनले भने, “साढे आठ किलोमिटर दुरीको ‘मोनोकेबल डिटाचेवल प्यासेञ्जर’ किसिमको केबलकार निर्माण गरिने लक्ष्य रहेको छ” ।

पञ्चासे क्षेत्रको प्राकृतिक स्वरूपलाई यथास्थानमा राखेर, पर्यटन पूर्वाधार निर्माण गर्न नगरपालिका र गाउँपालिका एवं नेपाल सरकारसँग करीब तीन हजार रोपनी जग्गा भाडामा लिने गरी प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

परियोजना निर्माणपूर्व गर्नु पर्ने पूर्व वित्तीय विश्लेषण प्रतिवेदन, ‘पूर्व सर्भेसहित डिपिआरको काम भइरहेको शर्माको भनाइ छ । केबलकार मात्र निर्माणका लागि रु तीन अर्ब लगानी लागे पनि रु सात अर्बभन्दा बढी रिसोर्ट, पार्कलगायत पर्यटन पूर्वाधारमा खर्च गरिने उहाँले बताउनुभयो ।

पञ्चासे तालदेखि चित्रे गाउँसम्म जीप फ्लायर, पञ्चासे घुम्ने पदयात्रा मार्ग, बाल उद्यान एवं फन पार्क, श्रवणकुमार आश्रम, हस्तकला विक्री केन्द्र एवं हेरिटेज प्लाजासहित होटल, रिसोर्ट, मदिरा क्षेत्र तथा घरवास तयार गरिने परियोजनाको लक्ष्य छ । परियोजनाका लागि चुक्ता पूँजी रु चार अर्ब २५ करोड पु¥याउने शर्माले जानकारी दिए ।

पूँजीको व्यवस्थापनमा प्रवद्र्धक शेयर तीन अर्ब रुपैयाँ रहनेछ । सर्वसाधारणले न्यूनतम एक लाखदेखि अधिकतम २५ लाखसम्म शेयर हाल्न पाउने भएका छन् । शेयरलाई पनि विभिन्न विधामा वर्गीकरण गरिएको छ । परियोजनाको सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजार जनाले रोजगारी प्राप्त गर्ने अनुमान गरिएको छ ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले केबलकार निर्माणबाट पर्वतलगायत कुश्मा नगरपालिकाले पनि फाइदा लिनसक्ने भएकाले नगरपालिकाले आवश्यक सहयोग गर्ने आश्वासन दिए । पर्वत उद्योग वाणिज्य सङ्घ, कुश्माबजारका उद्योगी, व्यवसायीलगायत सरोकारवालाले पनि पर्वतमा पहिलोपटक बन्न लागेको केबुलकारले पर्यटन प्रवद्र्धनका साथै आर्थिक क्रियाकलापमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । रासस


क्लिकमान्डु