चिनियाँ र नेपाली टोलीद्वारा रसुवा क्षेत्र निरीक्षण, केरुङ-काठमाडौँ रेलमार्ग अन्तरगत आज पोखरामा निरीक्षण हुँदै



काठमाडौँ। रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले केरुङ(काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ।

टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको हो। स्थलगत निरीक्षणमा रहेका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरेको बताए।

उक्त टोलीमा विभागका महानिर्देशक कलराम मिश्रलगायतका अधिकारी र चिनियाँ टोलीमा चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङलगायतको सहभागिता थियो। संयुक्त टोलीले काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थालगायत विषयमा जानकारी लिएको छ।

यस्तै चिनियाँ प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग शिष्टाचार भेटवार्ता गरी रेलमार्ग निर्माणको विषयमा जानकारी गराएको थियो । नेपाली र चिनियाँ टोलीले बुधबार काठमाडौँ–पोखरा रेलमार्ग रहने स्थानको समेत स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ।

केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ। सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ। काठमाडौँ–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ। सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ। रासस


क्लिकमान्डु