आतंकवादी क्रियाकलाप र भ्रष्टाचार रोक्न अख्तियार र सम्पत्ति शुद्धीकरणले गरे यस्तो समझदारी



काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा प्रचलित कानूनमा भएका सजायको व्यवस्था कार्यान्वयन गर्न र भ्रष्टाचार निवारणको राष्ट्रिय लक्ष्यलाई पूरा गर्न सम्झौता गरिएको ती संस्थाले जनाएका छन् ।

अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबीच समझदारीपत्रमा हस्ताक्षर भएको र त्यसले सहकार्यका थप मार्ग प्रशस्त गरेको दाबी गरिएको छ ।

समझदारीअनुसार ती निकाय बीचमा सूचना आदानप्रदान, प्रभावकारी विश्लेषण र अनुसन्धानसम्बन्धी व्यवस्था समेटिएको छ । सहमतिपत्रमा अख्तियारका सहसचिव एवम् प्रवक्ता रामेश्वर दंगाल विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले हस्ताक्षर गरेका छन ।

सहमतिपत्रमा सम्पत्ति शुद्धीकरण अनुसन्धान जाँचबुझ तथा अनुसन्धानको सिलसिलामा विभागमा प्राप्त आयोगका कार्यक्षेत्रमा रहेका सूचना र जानकारी आयोगमा पठाउने र आयोगले आफ्नो कामकारवाहीको क्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनाहरु जानकारीमा आएमा त्यस्ता सूचनाहरु विभागमा पठाउने उल्लेख गरिएको छ ।

भ्रष्टाचारजन्य गतिविधिका कारण सिर्जित सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापका कारण वित्तीय जोखिमको पहिचान गरी गम्भीर अपराधसित सम्बन्धित उजुरीको एकापसमा समन्वय गरी अनुसन्धान अगाडि बढाउने पनि सहमतिपत्रमा रहेको छ ।


पुष्प दुलाल