बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको सनाखत(नामावली सहित)



डोटी । डडेल्धुरा-डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ ।

ज्यान गुमाएकाहरुको पोष्टमार्टम डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा गरिने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।

उक्त बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका बानीडुग्री सैनस्थित पिसजोन एकेडेमी स्कुलको बस अमरगढी नगरपालिकास्थित उग्रतारा मेलाबाट फर्किँदा दुर्घटनामा परेको हो ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ११ जनालाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको छ । दुईलाई डिस्चार्ज गरिएको छ भने अन्य १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

स्कूलका सञ्चालक भीम बलायरले परिवारसहित स्कूलका अन्य संस्थापक लिएर मेला हेर्न गएको र फर्किने क्रममा स्याउलेभन्दा तलपट्टिबाट यात्रु समेत बोकेर गएको भन्ने बुझिएको ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रहरी नायब निरीक्षक गणेश नागारीले जानकारी दिए ।

मृतकहरुको नामावली :
ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिनुभएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका-२ का २१ वर्षीय केशव कडायत, सोही नगरपालिका-१० की २० वर्षीया शारदा कडायत, डोटी शिखर नगरपालिका-७ का २२ वर्षीय योगेन्द्र बोहरा, सोही नगरपालिका-७ का २४ वर्षीय शङ्कर जोरा, सोही नगरपालिका-८ की २२ वर्षीया शारदा रावत, कैलाली धनगढी उप-महानगरपालिका-२८ का नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका-४ की ३५ वर्षीया शशी विक, सोही नगरपालिका-११ की २५ वर्षीया गोदा भाट, सोही नगरपालिका-८ का ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावलको सनाखत भएको छ ।

त्यसैगरी, डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका-१० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा-३ का ३० वर्षीया माया रावल, कैलाली गोदावरी-१० का पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउपालिका ३ का १७ वर्षीय तीलक खाती, सोही ठाउँका ३० वर्षीय तेज धामी, डोटी शिखर नगरपालिका-१० का १५ वर्षीय सागर बलायर, सोही नगरपालिका–११ का २४ वर्षीय पदम विकको मृत्यु भएको हो ।  रासस


क्लिकमान्डु