बजार समस्याले चिज उद्योग बन्द हुँदै, पाँचथर र ताप्लेजुङका २३ मध्ये १५ वटा मात्रै सञ्चालनमा



काठमाण्डौ । चिजको बजार समस्याका कारण पूर्वी नेपालका उद्योग बन्द हुन थालेका छन् । नेपालका पर्यटकीय बजारमा चिजको माग नहुँदा उद्योग बन्द हुने क्रम बढेको हो ।

हिमालय चिज एशोसिएशनका अनुसार पूर्वी नेपालका इलाम पाँचथर र ताप्लेजुङमा २३ वटा चिज उद्योग दर्ता रहेपनि बजार समस्याका कारण १५ वटा मात्रै सञ्चालनमा रहेका छन् ।

पर्यटकीय सिजनमा पनि उत्पादन भएको चिज बिक्री नहुँदा किसानलाई दूधको मूल्य दिन नसकेर उद्योग बन्द हुन थालेको हिमालय चिज एशोसिएशनका उपाध्यक्ष तुलु तामाङले बताए ।

गाईको दूध प्रशोधन गरी बनाइने चिज नेपाल आउने पर्यटकको रोजाइमा पर्ने गरेपनि बिक्री कम भएकाले उत्पादन भएको चिज उद्योगमै थन्किएको छ । उद्योगमा उत्पादित चिज बजारमा बिक्री नहुँदा धेरैजसो उद्योगले आफ्नो उत्पादन क्षमता घटाएका छन् ।

पूर्वी नेपालका चिज उद्योगमा दैनिक ३० हजार लिटर दूध प्रशोधन हुँदै आएको छ । चिज उद्योग बन्द भएका कारण गाउँमा रोजगारीका अवसर पनि गुमेको हिमालयन चिज एशोसिएशनले जनाएको छ ।


क्लिकमान्डु