होटल संघ नेपालले भारतको बैंग्लोरमा नेपाल प्रवद्र्धन कार्यक्रम गर्ने



काठमाण्डौ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य र उद्देश्यका साथ छिमेकी मुुलुक भारतको बैंग्लोरमा नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली दूतावास तथा बैंग्लोरमा बसोबास गरेका नेपालीहरुको सहकार्यमा यही नोभेम्बर १९ मा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिने भएको छ ।

होटल संघ नेपालका अध्यक्ष तथा टोली नेता अमरमान शाक्यले यो कुरा जानकारी गराएका हुन् ।

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पश्चात भारतीय पर्यटकहरुको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि भएबाट अझ यसलाई व्यापक बनाउन प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरहरुसँग नेपाली होटलहरुको बीटूबी मिटिङ तथा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिनेपनि जनाइएको छ ।

सोही अवसरमा होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा बैंग्लोरस्थित लेमोन ट्रि प्रिमियर होटलमा आयोजना गरिनेछ । प्रत्येक अर्धवार्षिक साधारणसभा मुलुकबाहिर गर्ने नीति अनुसार यस वर्ष बैंग्लोरमा आयोजना गरिने भएको हो ।

साधारणभामा ३५ भन्दा बढी होटल व्यवसायी सहभागिता जनाउने संघले जनाएको छ ।

साधारणसभाले सरकारले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न होटल संघ नेपालले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै नीति निर्माण तहमा उपयुक्त सुझाव दिने निर्णय गरिने जनाएको छ ।

सो अवसरमा संघका महासचिब बिनायक शाहले नेपाल सरकारले हालै १०० नयाँ गन्तव्य पहिचान गरिसकेको र उक्त गन्तव्यहरुमा लगानी बिस्तारका क्षेत्रमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने धारणा राख्नेछन् ।


क्लिकमान्डु