‘अन्तराष्ट्रियस्तर’मा छलाङ मार्यौं भनेकै दिन चलेन नेप्सेको साइट




काठमाडौं । मंगलबार विहान अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर कारोबारको अनलाइन प्रणालीको उद्घाटन गरे ।

सो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नेपाली पुँजी बजार अन्तराष्ट्रियस्तरमा छलाङ मारेको बताएका थिए ।

तर, लगानीकर्ता भने अध्यक्ष डा. कार्कीले अन्तराष्ट्रियस्तरमा छलाङ मारेको दाबी गरेकै दिन सेयर कारोबार सम्बन्धी यथार्थ जानकारी पाउनबाट बन्चित भएका छन् ।

आज कारोबार समय सुरु भएदेखि नै नेपाल स्टक एक्सचेन्जको वेबसाइट चलेको छैन । अहिलेसम्म कति कारोबार भयो भन्ने पनि कुनै जानकारी पाउन सकिएको छैन । यो समाचार तयार पार्दासम्म (अपरान्ह १ बजेर ४० मिनेट जादा) नेप्से इन्डेक्स ०.८ अंकले बढेको बताइएको छ ।

नेप्सेको अनलाइन कारोबार सुरु हुने भनेपछि उत्साहित बनेका लगानीकर्ता नेप्सेको वेबसाइट हेर्दा भने निरास बनेका छन् ।

‘आज नेप्सेको अनलाइन कारोबार हुने भनेर उत्साहित थिएँ, तर पटक पटक हेर्दा पनि वेबसाइट नै नखुलेको देख्दा अनलाइनको गति पनि यस्तै हुने हो कि भन्ने चिन्तामा छु,’ एक लगानीकर्ताले भने ।

नेप्सेले भने वेबसाइटमा प्राविधिक समस्या आएकोले कारोबार डेटा सार्बजनिक हुन नसकेको बताएको छ ।

‘कारोबार भइरहेको छ, प्राविधिक समस्याको कारण कारोबार डेटा फाल्न सकिरहिएको छैन,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने ।

अहिलेसम्म नेप्सेले अघिल्लै दिनको कारोबार विवरण देखाएको छ ।


क्लिकमान्डु