तिहारले बढ्यो बजारमा घुईँचो, महंगिएको भाइमसला कहाँ कति पर्छ ?




काठमाडौं । तिहार पर्व शुरु भइसकेको छ । आजभोलि तिहारका सामाग्रीहरु किन्नेहरुको घुईँचो बजारमा देख्न सकिन्छ ।

तिहारका लागि आवश्यक सामाग्री भाइमसलाको गतवर्षको तुलनामा यो वर्ष अत्याधिक मूल्यबद्धि भएको उपभोक्ताहरुको प्रतिक्रिया छ । भाइमसलका मुख्य सामाग्री पेस्ता, काजु, बदाम, नरिवल र मखनाको अत्याधिक मूल्यवृद्धि भएको पाइएको छ ।

काठमाण्डौ उपत्यकाको असन क्षेत्र स्थित मखनमा रहेको आयुष इन्टरप्राइजेज होलसेल पसलमा काजु प्रतिकेजी १ हजार ५ सय २० रुपैयाँ रहेको छ । देशी बदाम १ हजार ३ सय ७० रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ ।

पेस्ता १ हजार ७ सय रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ । किसमिस ६ सय रुपैयाँ प्रतिकेजी र छोकडा १ सय ८० रुपैयाँ प्रतिकेजी विक्री भइरहेको पाइयो ।

नरिवल ४ सय ८०, ओखर ६ सयदेखि ७ सय रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ । ओखरको गुदि प्रतिकेजी १२ सय रुपैयाँदेखि १६ सय रुपैयाँमा विक्री भइरहेको असनका व्यवसायी बताउँछन् ।

मखना १ हजार रुपैयाँ प्रतिकेजी, सुपारी ५ सय रुपैयाँ प्रतिकेजी, ल्वाङ १ हजार २ सय ५० रुपैयाँ, दालचिनी ४ सय ८० रुपैयाँ, मिश्री १ सय ६० रुपैयाँ र सुकुमेल १८ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँ प्रतिकेजीमा विक्री वितरण भइरहेको
छ ।

यस्तै मखनकै पुष्पप्रसाद प्रधानको होलसेल पसलमा काजु १६ सय रुपैयाँ, देशी बदाम १३ सय ५० रुपैयाँ, पेस्ता १७ सय ५० रुपैयाँ, किसमिस ६ सय रुपैयाँ, छोकडा १ सय ६० रुपैयाँ, नरिवल ४ सय ८० रुपैयाँ, ओखर ७ सय रुपैयाँ, मखना ११ सय रुपैयाँ, सुपारी ५ सय ९० रुपैयाँ, ल्वाङ १४ सय ५० रुपैयाँ, सुकुमेल २८ सय रुपैयाँ र मिश्री १ सय ६० रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

खुद्रा पसलमा यस्तो छ भाइमसलाका सामाग्रीका मूल्य
असन बजारका होलसेलमा भाइमसलाको मूल्य अकासिएको उपभोक्ताहरुको प्रतिक्रिया छ । होलसेल पसलमा त मूल्य आकासिएको छ भने खुद्रा पसलमा भाइमसलाको मूल्य झनै बढेको देखियो ।

खुद्रा व्यापार गर्दै आएकी साबित्री चापागाईँले काजु ३ सय २० रुपैयाँ पाउ, बदाम ३ सय ५० रुपैयाँ पाउ, पेस्ता ३ सय ६० रुपैयाँ पाउ, किसमिस १ सय ६० रुपैयाँ पाउ, मिश्री ५० रुपैयाँ पाउ, ओखर १ सय ५० रुपैयाँ पाउ र नरिवल आदि किलोको २ सय ६० रुपैयाँमा विक्री गरिरहेको बताइन् ।

भाटभटीनीमा यस्तो छ भाइमसलाका सामाग्रीका मूल्य
भाटभटेनी सुपर मार्केटमा काजु १ सय ग्रामको १ सय ६०, बदाम १ सय ग्रामको १ सय ५९ रुपैयाँ, नरिवल आदि किलोको २ सय ७७ रुपैयाँ, ओखर २ सय ५० ग्रामको २ सय ३४ रुपैयाँ, पेस्ता १ सय ग्रामको २ सय ११ रुपैयाँ, किसमिस ५ सय ग्रामको ३ सय ८४ रुपैयाँ, सुपाडी १ सय ग्रामको ६४ रुपैयाँ, छोकडा १ सय ग्रामको २० रुपैयाँ, ओखरको गुदि १ सय ५० ग्रामको ३ सय ४० रुपैयाँ र मिश्री ५ सय ग्रामको ९४ रुपैयाँमा विक्री वितरण भइरहेको भाटभटेनी त्रिपुरेश्वरका ब्रान्च म्यानेजर सबिन ब्यानजेनकारले बताए ।

बिगमार्टको मूल्य यस्तो छ
बिग मार्टमा पेस्ता १ सय ग्रामको २ सय १८ रुपैयाँ, बदामको २ सय ग्रामको ३ सय ६० रुपैयाँ, किसमिस २ सय ग्रामको १ सय ६८ रुपैयाँ काजु १ सय ग्रामको २ सय १६ रुपैयाँ, छोकडा, २ सय ग्रामको ६६ रुपैयाँ, नरिवल १ सय ग्रामको ९६ रुपैयाँ र ओखरको गुदि १ सय ग्राम २ सय १० रुपैयाँमा विक्री वितरण भइरहेको छ ।

गतवर्ष कति थियो भाइमसलाका सामाग्रीका मूल्य ?
गत वर्षको कुरा गर्ने हो भने पेस्ताको प्रतिकेजी १६ सय रुपैयाँमा होलसेल पसलहरुमा विक्री वितरण भइरहेको थियो भने खुद्रा पसलमा १७ सय ५० रुपैयाँ प्रतिकेजी किन्न पाइन्थो ।

बदाम गत वर्ष १४ सय ५० रुपैयाँ प्रतिकेजी होलसेलमा विक्री भएको थियो भने खुद्रा पसलमा १६ सय रुपैयाँ प्रतिकजीमा विक्री भएका थिए ।

किसमिस होलसेलमा ६ सय ५० रुपैयाँमा विक्री भएका थिए भने खुद्रा पसलमा ७ सय रुपैयाँ प्रतिकेजीमा पाइन्थ्यो ।

काजुको होलसेल मूल्य ११ सय ५० रुपैयाँ प्रति केजी थियो भने खुद्रा पसलमा १६ सय ५० रुपैयाँमा बिक्री भएका थिए ।

ओखर होलसेलमा ६ सय रुपैयाँ प्रतिकेजी पाइन्थ्यो भने ६ सय ५० रुपैयाँमा खुद्रा पसलहरुमा किन्ने सकिन्थ्यो ।

नरिवल होलसेलमा ३ सय ५० रुपैयाँ विक्री वितरण भएका थिए भने खुद्रा पसलमा ४ सय २५ रुपैयाँ प्रतिकेजी विक्री भएका थिए ।

मखना होलसेल पसलमा ६ सय ५० रुपैयाँमा विक्री भएका थिए भने खुद्रा पसलमा ८ सय रुपैयाँसम्ममा किन्न सकिन्थ्यो ।

छोकडा होलसेल पसलमा २ सय रुपैयाँमा विक्री भएका थिए भने २ सय ५० रुपैयाँमा खुद्रा पसलहरुमा बिक्री वितरण भएका थिए ।

सुपाडी गत वर्ष ७ सय ५० रुपैयाँमा होलसेल पसलमा विक्री भएको थियो भने खुद्रा पसलमा ९ सय रुपैयाँसम्ममा विक्री भएको असल स्थित मखनका व्यापारी पुष्पप्रसाद प्रधानले बताए ।


क्लिकमान्डु