रारामा पर्यटकको घुईँचो, पूर्वाधारको भने अभाव



मुगु । कर्णाली प्रदेश मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित छ रारा ताल । रारा तालको सौन्दर्य बेहिसाबको छ । ताल वरपर चारैतिर हरियाली छ । रारा राष्ट्रिय निकुञ्जबीचको घना जङ्गलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित छ ।

समुद्री सतहबाट दुई हजार ९९० मिटरको उचाइमा रहेको रारा तालको लम्बाइ करीब पाँच दशमलव १ किमी तथा चौडाइ करीब २ दशमलव ७ किमी रहेको छ ।

रारा क्षेत्र प्राकृतिक रुपमा आफैँमा सौन्दर्यको खानी भए पनि यहाँ पूर्वाधारको निकै कमी रहेको छ । रारा पुग्ने आन्तिरक तथा बाह्य पर्यटकले पूर्वाधारको कमी रहेको गुनासो गर्ने गरेका छन् ।

ताल घुम्न आउने पर्यटकलाई खान, बस्न, विद्युत्, टेलिफोन, इन्टरनेटलगायतको समस्या छ । घुम्न आउने याममा पर्यटकले बास बस्नसमेत नपाउँदा रातभर खुला आकाशमुनि आगो तापेर बस्नुपरेको बुटवलबाट रारा घुम्न आएका दीपेश श्रेष्ठ बताृउँछन् ।

कर्णाली प्रदेश सरकारले २०७५ साललाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गरेको छ । यहाँ त्यस अनुसारको पूर्वाधार निर्माण भने गर्न सकिएको छैन । कर्णाली प्रदेश सरकारले एक वर्षभित्र रारा र आसपासको क्षेत्रमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्याप्त पूर्वाधार तयार नगरी कर्णाली रारा पर्यटन वर्ष घोषणा गरिएको यहाँ पनि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले गुनासो गरेका छन् ।

रारा तालको परिधिभित्र डाँफे र भिलेज गरी दुई होटल सञ्चालनमा छन् । दुई होटलमा जम्मा २८ कोठा रहेको छ । दिनहुँ आउने हजारौँ पर्यटकलाई भने बस्न असहज हुने गरेको छ । सिन्धुपाल्चोकबाट रारा घुम्न आउनुभएका पर्यटक राजु बुढामगर राराको वर्णन गरी साध्य छैन भन्छन् ।

“पूर्वाधार अभावले राराको सौन्दर्य ओझेलमा परेको छ,” उनले भने । रारा राष्ट्रिय निकुञ्जभित्र तथा तालको वरपर होटल सञ्चालन गर्न नपाउनुपर्ने भए पनि राष्ट्रिय निकुञ्जको क्यान्टिनको रूपमा रहेको डाँफे र भिलेज होटल एकलौटी रूपमा सञ्चालनमा छ ।

उद्योग वाणिज्य सङ्घ मुगुका सदस्य गङ्गाबहादुर शाही भन्छन्, “पर्यटकलाई मध्यनजगर राख्दै खान बस्नको सुविधाको लागि होटल सञ्चालनको पहल गर्दा सञ्चालन गर्न दिँदैनन् ।” केहीले एकलौटी रुपमा व्यवसाय गर्ने गरे पनि अन्यलाई होटल व्यवसाय गर्न नदिएको उनको आरोप छ ।

रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले अन्य होटल सञ्चालनका लागि स्वीकृति दिइएको छैन । यहाँ दुई होटल निर्वाध रूपमा सञ्चालन भइरहेको शाही बताउँछन् । यस विषयमा रारा राष्ट्रिय निकुञ्ज मौन रहँदै आएको छ ।

राराताल घुम्न आउने पर्यटकलाई टेलिफोन र इन्टरनेटको असुविधा छ । नेपाल टेलिकम र एनसेलले काम नगर्ने झापाबाट आएका पर्यटक प्रवीण काफ्ले बताउँछन् । काफ्लेले यहाँको पर्यटनलाई व्यवस्थित बनाउन पहिला खाने, बस्ने, नेटवर्क तथा इन्टरनेटजस्ता अतिआवश्यक कुराको सुविधा दिनुपर्ने बताए ।

कठिन अनि लामो बाटोको प्रवाह नगरी सडक मार्ग भएर रारा घुम्न निस्कने पर्यटकले रारालाई पूर्ण बनाउन यहाँको पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । रारालाई नेपालको स्वर्ग मानिए पनि कठिन यात्राबाट पुग्ने पर्यटक यहाँ पूर्वाधारको कमीले यात्रा खल्लो हुने गरेको गुनासो गर्दै आएका छन् ।

वैशाखमा ‘कर्णाली रारा पर्यटन वर्ष’ घोषणा कार्यक्रममा पुग्नुभएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ भित्रै कर्णालीमा आवश्यक पूर्वाधार बनिसक्ने बताएका थिए । सात महिना बित्नैलाग्दा समेत पर्यटकले अतिआवश्यक सुविधा पाउन सकेका छैनन् ।

रारा घुम्न आउने पर्यटक कोही टेन्टमा त कोही नजिकका गाउँमा बास माग्न बाध्य छन्  । टेन्टमा बस्ने पर्यटक चिसोले रातभर कठ्याङ्ग्रीन बाध्य छन् । कतिपयले त बस्नको लागि टेन्ट पनि पाउँदैनन् । रारामा बास नपाउने तथा भोकभोकै बस्नु पर्ने बाध्यता छ ।

नेपाल पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल पर्यटन विकास, पर्यटनसँगै भित्रिने प्रदूषण, व्यापारीकरण रोक्नुपर्ने बताउँछन् । यसका साथसाथै निकुञ्जभित्र पहिलेको तुलनामा वन्यजन्तु लोप हुँदै गएको, तालमा माछाको सङ्ख्या घट्टै भएको र वन्यजन्तुको चरनक्षेत्र मासिदै गएकाले निकुञ्जको अस्तित्व मेटिन सक्ने मल्लले बताए । यसतर्फ निकुञ्ज र सरकारले ध्यान जानुपर्ने उनको भनाइ छ ।

छायाँनाथ रारा नगरपालिकाले गत वर्षको नगरसभाबाट ताल क्षेत्रभित्र सञ्चालित होटल बाहिर ल्याउने निर्णय गरेको भएता पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन ।

ताल क्षेत्रभित्रको होटलले राराको सफा तथा कञ्चन सुन्दरतामा ह्रास पुग्ने भएकाले तालभन्दा बाहिर होटल बनाउनुपर्ने तथा ताल क्षेत्रभित्र रहेको सेनाको गुल्मलाई बाहिर सारेर राराको सौन्दर्य जोगाइराख्नुपर्ने नगरवासीको माग छ ।

अहिलेको बदलिँदो समयसँगै पर्यटकको रूचिलाई ध्यानमा राखी परम्परागत सुविधा, वन्यजन्तु शिकार तथा प्राकृतिक स्थानमा बसेर इन्टरनेटमार्फत स्वतन्त्र रूपमा सेवा दिन सके राराको सौन्र्दयमा सुनमा सुगन्ध पुग्ने देखिन्छ ।

कालीकोट, जुम्ला, मुगु हुँदै रारासम्म जाने पर्यटकलाई सुविधाको हिसाबमा होमस्टे सञ्चालन गर्ने हो भने यहाँको व्यवसाय फस्टाउने तथा पर्यटकलाई समेत सुविधा पुग्नेछ । विसं २०६९ पुसमा नाग्मा (कालीकोट र जुम्लाको सिमाना) हुँदै मुगु सदरमुकाम गमगढीसम्मको बाटो सञ्चालन भएसँगै रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । काठमाडौँ, बुटवल, नेपालगञ्ज तथा देशका विभिन्न स्थानबाट रारा घुम्न जिप, बस तथा मोटरसाइकल लिएर आउने प्रशस्त छन् ।

यस क्षेत्रको पहिलो पर्यटकीय गन्तव्य रहेको रारा पुग्न काठमाडौँबाट जिप, बस तथा मोटरसाइकलमा तीन दिन लाग्छ । रारा पुग्न हवाईमार्गको पनि सुविधा छ । नेपालगञ्जबाट जहाजमा मुगुको ताल्चा विमानस्थल झरेपछि करीब दुई घण्टा हिँडेर रारा पुग्न सकिन्छ । रासस


क्लिकमान्डु