३ महिनामा साढे ७ अर्बको फलफूल आयात, अघिल्लो वर्षभन्दा ३ अर्ब बढी




काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा साढे ७ अर्बको फलफूल आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ र असोज महिनामा मात्र ७ अर्ब ५८ करोड ९८ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको छ ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको थियो ।

यो तथ्यांकले गत आर्थिक वर्षको ३ महिनाको तुलनामा यो आर्थिक वर्षको पहिलो ३ महिनामा झण्डै ३ अर्ब रुपैयाँको बढीको फलफूल आयात भएको देखाउँछ ।

गत आर्थिक वर्षमा १० अर्ब ६४ करोड ११ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७३÷७४ मा ८ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको थियो ।

नेपालमा सबैभन्दा बढी स्याउ, केरा, अम्बा, अंगुर र सुन्तला आयात हुने गर्छ । यो आर्थिक वर्षको साउन महिनामा स्याउ ३५ करोड ३९ लाख रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै भदौ महिनामा ८६ करोड १३ लाख रुपैयाँ र असोज महिनामा १ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा स्याउ २ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ बराबरको आयात भएको थियो भने चालु आर्थिक वर्षको ३ महिनामा २ अर्ब ८८ करोड ४५ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

केरा गत आर्थिक वर्षको ३ महिनामा २४ करोड ५७ लाख रुपैयाँ बराबरको आयात भएको थियो भने यो आर्थिक वर्षको ३ महिनामा ८३ करोड ८६ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

अम्बा तथा आँप गत आर्थिक वर्षको पहिलो ३ महिनामा ३९ करोड ७४ लाख रुपैयाँको आयात भएको थियो भने चालु आर्थिक वर्षको ३ महिनामा ५२ करोड २ लाख रुपैयाँ बराबरको आयात भएको देखिन्छ ।

त्यसैगरी सुन्तला गत आर्थिक वर्षको ३ महिनामा ९ करोड ४६ लाख रुपैयाँको आयात भएको थियो भने चालु आर्थिक वर्ष ३ महिनामा १६ करोड २२ लाख रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेछ ।

यस्तै अन्य फलफूलहरु गत आर्थिक वर्षको ३ महिनामा ८४ करोड ३५ लाख रुपैयाँको आयात भएको थियो भने यो आर्थिक वर्षको ३ महिनामा १ अर्ब ५६ करोड रुपैयाँ बराबरको आयात भएको छ ।


क्लिकमान्डु