कात्तिक १५ गतेदेखि गोदावरी फूल मेला हुँदै, ४५ लाखको कारोबार हुने लक्ष्य



काठमाडौं । कात्तिक १५ गतेदेखि गोदावरी फूल मेला आयोजना हुने भएको छ । प्रदेश नम्बर ३ भूमि, कृषि तथा सहकारी मन्त्रालय, पुष्प विकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले आयोजना गर्न लागेको गोदावरी फूल मेला १८ गतेसम्म सञ्चालन हुनेछ ।

४ दिनसम्म सञ्चालन हुने यो मेला जावलाखेलको खेल मैदानमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

पुष्प व्यवसाय प्रवद्र्धनका लागि समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।

‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नारासहित आयोजना हुन गइरहेको यो मेला नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी आयोजना गर्न लागिएको हो ।

हाल पुष्प उत्पादक कृषकहरुको उत्पादनको बजार क्षेत्र सीमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढ्न जाने र बजार विस्तार गर्न मेलाले सघाउने अपेक्षा गरिएको मेला संयोजक मीनबहादुर तामाङले बताए ।

गोदावरी फूलको विविध जाती प्रजातीहरु मध्ये यस प्रदर्शनीमा मुख्यतः स्पाईडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावरलाई प्रतियोगितामा समावेश गरी प्रतिस्पर्धा गराईने छ ।

प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामूलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहने छन् । मेलाको आकर्षणको रुपमा गोदावरी फूलको विभिन्न नयाँ प्रजातीका फूलहरुको प्रदर्शनी तथा बिक्री बितरण हुनुका साथै सयपत्री, मखमली तथा अन्य फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश हुने छन् ।

पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका लागि मेला उपयोगी हुने आयोजकले विश्वास व्यक्त गरेको छ ।

पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ । मेलामा ३६ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र ४५ लाख रुपैयाँ बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको गुरुङले बताए ।


क्लिकमान्डु