हेटौंडामा नयाँ औद्योगिक क्षेत्र स्थापनाको तयारी, मयुरधापको कालापानीमा कार्यालय स्थापना



हेटौँडा । प्रदेश नं ३ को राजधानी हेटौँडामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाको तयारी शुरु भएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हेटौँडाको मयुरधापमा नयाँ औद्योगिक क्षेत्र स्थापना तथा सञ्चालनको तयारी प्रक्रिया अगाडि बढाएको छ ।

यसका लागि लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले हेटौँडा-१४ मयुरधापस्थित कालापानीमा कार्यालय स्थापना गरी त्यसको उद्घाटनसमेत गरेका छन् ।

दुई हजार ६८० रोपनी जग्गामा निर्माण हुन लागेको सो औद्योगिक क्षेत्रमा ६२ वटा प्लटमा औद्योगिक प्रतिष्ठान सञ्चालन हुने बताइएको छ ।

जग्गाको भोगअधिकार प्राप्त भएपछि छिट्टै नै औद्योगिक क्षेत्र व्यवस्थापन कार्य शुरु हुने लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए ।

हेटौँडामा यो दोस्रो औद्योगिक क्षेत्र व्यवस्थापन कार्य हो । यस अघि २०२० सालमा अमेरिकी सरकारको सहयोगमा निर्माण भएको हेटौँडा औद्योगिक क्षेत्रमा उद्योगहरु सञ्चालित छन् । यो औद्योगिक क्षेत्र २२६ बिगाहा जमिनमा सञ्चालित छ ।

नयाँ औद्योगिक क्षेत्र स्थापनाले व्यवसायी तथा उद्योगीहरु खुसी भएका छन् । उद्योग सञ्चालनका लागि त्यो ठाउँ उपयुक्त भएको स्थानीयवासी रामबहादुर भण्डारीले बताए ।


क्लिकमान्डु