बामदेवको कारण राज्यको ढुकुटीलाई १० करोडको आर्थिक भार



काठमाडौं । नेकपाका नेता बामदेव गौतमको कारण राज्यको ढुकुटीबाट १० करोड रुपैयाँ सकिने भएको छ ।

तपाई हामीले हरेक समय तिरेको करको रकमबाट सो खर्च हुन्छ । १० करोड रुपैयाँ नेपालजस्तो देशको लागि सानो रकम भने होइन । भूकम्पको कारण अझैपनि जनताहरुको घर निर्माण भएको छैन । विद्यार्थीले पढ्ने विद्यालय र स्वास्थ्य चौकीपनि निर्माण हुन सकेको छैन ।

नेपालको संविधान २०७२ ले कुनैपनि व्यक्तिलाई दुई स्थानबाट प्रतिनिधिसभाको निर्वाचन लड्न रोकेको छ । यसको कारण दुई स्थानबाट जितेको प्रतिनिधिले एक ठाउँ छाड्ने र त्यसको ठाउँमा उपनिर्वाचन गर्दा लाग्ने खर्च नै हो ।

कानूनमा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाका सदस्यले राजिनामा दिएपछि त्यो स्थानमा उपनिर्वाचन गराउनुपर्ने अवस्था छ ।
गत प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट बामदेव गौतम पराजित भएका हुन् । बामदेव गौतमले निर्वाचन हारेपछि उपनिर्वाचनबाट प्रतिनिधिसभा जानको लागि धेरै ठाउँबाट पहल गरे । अन्त्यमा काठमाडौं ७ बाट निर्वाचित रामविर मानन्धरले राजिनामा दिएपछि उनी निर्वाचन लड्ने भएका हुन् । निर्वाचनमा कसले जित्छ के हुन्छ त्यो अर्को पाटो हो ।

तर,उपनिर्वाचन गराउदा राज्यलाई भने करिब १० करोड रुपैयाँ खर्च लाग्ने भएको छ । गतवर्ष निर्वाचन गराउदा प्रतिनिर्वाचन क्षेत्र करिब १० करोड रुपैयाँ खर्च भएको छ । निर्वाचन आयोग,सुरक्षा लगायतको लागि सो खर्च हुन्छ । अब उम्मेद्वारले कति खर्च गर्छन् त्यो उसको कुरा हो । तर,निर्वाचन गराउदा लाग्ने सबै खर्च भने राज्यले दिने हो । त्यो भनेको जनताले तिरेको करको रकम हो । यसले बामदेवको कारण राज्यलाई अनावश्यक १० करोड रुपैयाँ आर्थिक भार पर्ने भएको छ ।


क्लिकमान्डु