मुख्यमन्त्री पौडेलले भने- सार्वजानिक खरिद ऐनको प्रकृया झण्झटिलो छ



हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताएका छन् । सार्वजानिक खरिद ऐनको प्रकृया झण्झटिलो भएका कारण पुँजीगत खर्च कम भएको उनको भनाई छ ।

सार्वजानिक खर्च पुनरावलोकन आयोगको टोलीसंग आज भएको छलफलमा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले अझैपनि बजेटको रकम छर्ने परम्परा नहटेको बताए ।

अहिले पनि सयौंको संख्यमा साना साना योजनाहरुमा रकम विनियोजन गरिएको भन्दै यस्तो प्रकृया अन्त्य हुनुपर्ने बताए । एकैपटक एउटा योजनामा खर्च भए काम सजिलो ढंगबाट सम्पन्न हुने उनको भनाई थियो । २ सय ५० बर्षसम्म एकात्मक शासन व्यवस्थाको परिपाटी नहटेकोमा उनको चिन्ता थियो ।

आयोगका अध्यक्ष डा. डिल्लीराज खनालको टोलीसंग भएको छलफलमा भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापित, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, प्रमुख सचिब आनन्दराज ढकाल, सचिब रमेश शिवाकोटी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देबकोटा, सदस्य श्याम बस्नेत लगायत सहभागी थिए ।


क्लिकमान्डु