बैंकका बिस्थापित शाखा पुनस्थापना गर्न अर्थसचिबको ताकेता



काठमाण्डौं । अर्थसचिब डा. शान्तराज सुबेदीले द्धन्द्धको समयमा विस्थापन भएका सरकारी बैंकका शाखाहरु छिटो पुनस्थापना गर्न निर्देशन दिएका छन् । सरकारी स्वामित्वका बैंकहरु राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई मन्त्रायमै बोलाएर सचिब सुबेदीले यस्तो निर्देशन दिएका हुन् ।

द्वन्दको समयमा विस्थापन भएका सरकारी वैंकका शाखाहरु हालसम्म पनि अपेक्षित रुपमा पुनस्स्थापना नहुँदा सम्वन्धित क्षेत्रका जनताको गुनासो समेत बढी रहेको भन्दै सचिब सुबेदीले चाँढो पुनस्थापना गर्न भनेका छन् ।

‘जनतालाई दुर्गम तथा पछाडी परेका क्षेत्रमा वित्तीय सेवा पुर्याउने संस्थाहरुले सुगम र शहर केन्द्रित भएर सेवा प्रदान गर्दा सरकारको सवै नेपाली जनतालाई बैंक तथा वित्तीय सेवा पुर्याउने र ‘एक व्यक्ति एक वैंक खाता’ नीति कार्यान्वयन समेत कठिन हुने देखियो, बैंक शाखाहरु तत्काल पुनस्स्थापना र आवश्यकता अनुसार थप शाखा विस्तार गर्न लाग्नुस्,’ सचिब डा. सुबेदीले सिइओहरुलाई निर्देशन दिदै भने ।

मोवाइल बैंकका माध्यमबाट सेवा उपलब्ध गराउन एवं शहरमा विद्युतीय प्रणाली मार्फत अनलाइन भुक्तानी प्रणाली लागु गर्न समेत सचिब सुबेदीको निर्देशन छ । बैंक शाखाहरु पुनस्थापना गर्दा तीनैवटा वैंकले समन्वय गरी जनताको माग, व्यवसायिक कारोवार एवं सेवा विस्तार समेतलाई ध्यानमा राखी दोहोरो नपर्ने गरी स्थापना गर्नु पर्ने उनको भनाइ छ ।

द्वन्दको समयमा नेपाल बैंकका ९०, राष्ट्रिय वाणिज्य वैंकका १०८ र कृषि विकास वैंकका ७५ गरी २७३ बैंक शाखा विस्थापित भएका थिए । तीमध्ये हालसम्म नेपाल वैंक लि.को ३०, राष्ट्रिय वाणिज्य वैंकका ५१ र कृषि विकास वैंकका ७० गरी १५१ बैंक शाखा पुनस्स्थापना भएको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ । सचिब डा. सुबदीले बिहिबार बैंकका सिइअाेहरूलाई मन्त्रालयमा बाेलाएर यस्ताे  निर्देशन दिएका हुन् ।


क्लिकमान्डु