एकैदिनमा फेरियो निर्णय, ट्रिपर सञ्चालनको समय पुनः घटाइयो
काठमाण्डौ । काठमाडौं उपत्यकािभत्र ट्रिपर सञ्चालनको समयावधि पुनः घटाइएको छ । बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि समयावधि घटाइएको हो ।
अब साउन ४ गतेकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपरहरु सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
यसअघि ट्रिपरले ट्राफिक जाम र असुरक्षा बढाएको भन्दै काठमाडौंमा रिङरोड भित्र र कोटेश्वरबाट जडिबुटीसम्मको सडक खण्डमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र ट्रिपर सञ्चालन गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गरेको थियो ।
तर निर्माण सामग्रीको ढुवानीमा अवरोध भएको निष्कर्ष निकाल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले १ घण्टा बढाउने निर्णय गरेको थियो ।
यस्तो निर्णय गरेकै दिन हिजो दुर्घटनाका घटना भएपछि ट्राफिक प्रहरी महाशाखाले आज सूचना जारी गर्दै बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन गर्न सबैमा आग्रह गरेको छ ।