हानाथाप बढेपछि कर्मचारी विदेश भ्रमणमा जानेबारे कार्यविधि बनाउँदै राष्ट्र बैंक




काठमाडौं । विदेश भ्रमणलाई लिएर कर्मचारीबीच हानाथाप र अनावश्यक प्रतिस्पर्धा बढेपछि राष्ट्र बैंकले यससम्बन्धी कार्यविधि नै बनाउने भएको छ ।

कार्यविधि नहुँदा ब्यवस्थापनको तजविजी अधिकारले कर्मचारीले विदेश भ्रमणको अवसर पाउने गरेको र यसले कर्मचारीबीच असन्तुष्टी र बृत्तिविकासमै असर परेको गुनासो आएपछि राष्ट्र बैंकले कार्यविधि बनाउन लागेको हो ।

कर्मचारी विदेश भ्रमणको कार्यविधि बनाउन गभर्नर डा. चिरन्जीबी नेपालकै विशेष चासो र अग्रसरता रहेको बताइएको छ । कार्यविधि बनाएपछि पनि कर्मचारीको विदेश भ्रमणको स्वीकृति राष्ट्र बैंक संचालक समितिले दिने ब्यवस्था गराउने पक्षमा गभर्नर डा. नेपाल रहेको स्रोतले बतायो ।

‘कर्मचारीको विदेश भ्रमण गभर्नरले स्वीकृत गर्ने परम्परा थियो, जसलाई विदेश पठाउँदा पनि ‘आफ्नो मान्छे भएकोले विदेश पठाए’ भन्ने खालको आरोप लाग्ने गरेको थियो, यसलाई ब्यवस्थित गरौं भनेर गभर्नरले नै चासो दिनुभएको छ,’ स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

गभर्नर डा. नेपालले कर्मचारीको विदेश भ्रमणको स्वीकृति संचालक समितिबाट गराउने गृहकार्य पनि थालेका छन् । सोही अनुसारको ब्यवस्था कार्यविधिमा गर्न लागिएको छ । डा. नेपालले कार्यविधि तयार पार्न निर्देशन दिइसकेका स्रोतले जानकारी दियो ।


क्लिकमान्डु