१ करोड ५० लाख मूल्यको तीन किलो सुनसहित २ जना पक्राउ



काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले रसुवा केरुङ नाका हुँदै काठमाडौँ सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रसुवा गोसाइकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई पक्राउ गरेको हो ।

परिसरले पत्रकार सम्मेलन गरी सोमबार बेलुका बा ७३ प ३४०२ नम्बरको निलो रङ्गको पल्सल मोटरसाइकल सुन ल्याउँदै गरेको अवस्थामा टोखा रोडबाट पक्राउ गरिएको जानकारी दिएको हो ।

सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले गोप्य सूचनाका आधारमा खानतलासी गर्दा १२ टुक्रा सुन पेटीभित्र लुकाएर ल्याएको अवस्थामा बरामद गरेको जानकारी दिए । “पक्राउ परेका सुनको मालिक नभएर भरियामात्र भएको अनुसन्धानमा खुल्न आएको छ,”–उनले भने ।

प्रहरी वरिष्ठ उपरीक्षक लामाले दुवैजना रसुवामा घर बनाउने ठेक्कापट्टा गर्ने काम गर्ने गरेको र एक किलोग्राम सुन केरुङबाट काठमाडौँ ल्याएको ५० हजार पाउने गरेर सुन ओसारपसारमा संलग्न रहेको अनुसन्धानमा खुलेको बताए । “सुनको मुख्य मालिक पत्ता लगाउन हामी लागेका छौँ,”–उनले भने ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घकाअनुसार उक्त सुनको मूल्य एक करोड ५० लाख २० हजार ६९९ रहेको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको परिसरले जनाएको छ ।


क्लिकमान्डु