दशैमा गाडीले दिएनन् छुट, नदिने विरुद्ध सशक्त आन्दोलन गर्छाैंः विद्यार्थी नेता




काठमाडौं । सरकार र यातायात ब्यवसायीबीच भएको समहमति अनुसार ब्यवसायीले देशैंको बेलामा सार्बजनिक यातायातमा छुट नदिने भएका छन् ।

सरकार ब्यवसायीबीच विद्यार्थी, जनआन्दोलनका घाइते, अपांग, बृद्ध जस्ता नागरिकलाई सार्बजनिक यातायातमा ४५ प्रतिशत छुट दिने सहमति भएको थियो ।

तर, दशैको बेलामा यात्रुको बढी आवागमन हुने भएपनि ब्यवसायीले यस्तो छुट दिने गरेका छैनन् । आफ्नो बस्तु तथा सेवा धेरै विक्री हुने समयमा अन्य ब्यवसायीले छुटको अफर ल्याउने गरेका भएपनि यातायात ब्यवसायीले भने यही बेलामा मौका छोपेर पहिला दिने गरेको सुविधा पनि कटौति गर्ने गरेका छन् ।

यसअघि प्रत्येक गाडीको केही सिटमा यस्तो छुट दिने गरिएपनि यसपाली छुट दिए नदिएको आफूलाई थाहा नभएको यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए ।

‘अघिल्ला बर्षहरुमा समितिले नै गाडीको ब्यवस्थापन गर्दै आएका थिए, त्यसमा केही सिट छुटको लागि छुट्याउने गरिएको थियो, योपाली सबैले हामीलाई सिण्डिकेटधारी भन्दै भेदभावपूर्ण ब्यवहार गरिरहेका छन्, समितिहरुले गाडीको ब्यवस्थापन पनि गरेको छैन, त्यसैले छुट छ वा छैन भन्ने मलाई थाहा भएन,’ अध्यक्ष कर्माचार्यले क्लिकमाण्डूसँग भने ।

दशैको लागि अग्रिम टिकट काट्न जाने विद्यार्थीले छुट नपाएको गुनासो गरिरहेका छन् । यो बेला आफूहरुले कुनै छुट नपाएको विद्यार्थीको भनाइ छ ।

विद्यार्थी नेताहरु भने सरकार, ब्यवसायी र विद्यार्थीबीच भएको सहमतिमा दशैको बेलामा छुट दिने भन्ने ब्यवस्था नभएकोले छुट दिनुपर्ने बताउँछन् ।

‘विद्यार्थी परिचयपत्रका आधारमा ४५ प्रतिशत भाडा छुट दिने सहमति हाम्रो आन्दोलनको परिणाम हो, यो ब्यवस्था सरकारले कडाइका साथ पालना गराउनु पर्छ, ब्यवसायीले पनि छुट दिनुपर्छ, भएन भने यो ब्यवस्था कार्यान्वयन गर्न गराउन हामी तत्काल देशब्यापी आन्दोलन सुरु गर्छाैं,’ तत्कालिन नेकपा एमाले निकट अनेरा स्ववियुका सचिब सुदेश पराजुलीले क्लिकमाण्डूसँग भने ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले पनि विद्यार्थी परिचयपत्रका आधारमा छुट दिने ब्यवस्था कडाइका साथ पालना हुनुपर्ने बताएको छ ।

‘ब्यवसायीले विद्यार्थीलाई छुट दिए वापत भन्सार लगायतमा सुविधा पाउँदै आएको छन्, उनीहरुले हामीलाई कुनै दया मायाले यस्तो छुट दिएका होइनन्, दशैको बेलामा वा कसैलाई मन नलागेको बेलामा यस्तो छुट नदिने भन्ने हुदैन, हामीले छुट दिने ब्यवस्था तत्काल कार्यान्वयन गरिहाल्न चेतावनी दिएका छौं, हाम्रो आग्रहलाई बेवास्ता गरिए तत्काल सशक्त आन्दोलन सुरु गर्छाैं,’ नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भीमकुमार गौतमले भने ।


क्लिकमान्डु