सेयर बजारमा जमेका २५ वर्षे युवा अमृतको १० वर्षे यात्रा र अनुभव




काठमाडौं । अर्घाखाँची घर भएका अमृत बञ्जाडे उमेरले २५ वर्षका मात्र भए । उच्च शिक्षा हासिल गर्ने उमेरमै उनले एक दशक लामो व्यवसायिक अनुभव हासिल गरिसकेका छन् ।

सानै उमेरमा व्यवसायिक यात्रा शुरु गरेका अृमत शेयर लगानीकर्ता हुन् । अनामनगरस्थित आर्यतारा सेक्युरिटिजमा भेटिएका युवा लगानीकर्ता अमृत १५ बर्षको उमेर देखि नै सेयर बजार प्रवेश हुन् ।

सेयर बजारमा युवा संलग्नता बढिरहेको छ । युवाहरुको पंक्तिमा पर्ने अृमतको नाममा उनी १५ बर्षको हुँदा नै आईपिओ भरिएको थियो । १६ वर्षमा नागरिकता बने पश्चात दोस्रो बजारमा उनको सहभागिता भयो । र, अहिलेपनि उनी शेयर बजारमा जमिरहेका छन् ।

कसरी शुरु गरे शेयर बजारको यात्रा ?
अर्घाखाँची जिल्लाको सन्धीखर्कबाट राजधानी छिरेका उनी बनस्थलीमा बस्छन् ।

‘सेयर बजारमा मेरो प्रवेश १५ बर्षको उमेरमा भएको हो, मलाई अहिलेपनि याद छ, बजारमा मेरो प्रवेश आईपिओ मार्फत भएको थियो,’ उनले सुरुवाति दिन सम्झदै क्लिकमाण्डूसँग भने ।

बजार प्रवेश गर्दा ४–५ लाख रुपैयाँ मात्रै उनको नामको लगानी रहेको थियो । अहिले करिव ६० लाख रुपैयाँ सेयर बजार क्षेत्रमा उनको लगानी छ । २०६४ सालदेखि २०७० सालसम्म उनको प्राथमिक बजारमा मात्र सहभागिता थियो । यसरी नै ०७० पछि भने उनको सहभागिता दोस्रो बजारमा समेत रह्यो ।

‘बजार प्रवेश गरेदेखि अहिलेसम्मको यात्रामा बेलाबेलामा नाफा समेत आर्जन गरेको छु, मैले कमाएको नाफाबाट भने निकै सन्तुष्ट छु,’ अमृतले थपे ।

उनीसँग अहिले १२ वटा कम्पनीको सेयर छ । तर, कम्पनीको नाम खुलाउनु भने चाहेनन् ।

आफूसँग भएको सेयर नेप्से बढेका बखत बेच्ने गरेको उनले बताए । उनी बजार घट्दा सेयर किन्ने अनि बजार बढेको बेलामा बेच्ने गरेको बताउँछन् ।

‘ओठमा जूँगाका रेखी बस्दै गर्दा मैले सेयर बजारमा प्रवेश गर्ने मौका पाए आजसम्मपनि यहीँ कुराले निकै खुशी दिन्छ,’ उनले भने ।

प्रवेशिका परीक्षा दिएपछि उनी काठमाडौं आए ।

‘दाइले आइपिओमा लगानी गर्नुभयो, साथै म आफैं व्यवस्थापनको विद्यार्थी भएकालेपनि बजारप्रतिको मेरो लगावमा निरन्तर बृद्धी हुन थाल्यो,’ उनी सुनाउँदै गए ।

सेयर बजारमा युवा किन लाग्ने ?
‘सेयर बजार यस्तो क्षेत्र हो जहाँ थोरैपूँजीबाट नै लगानी गर्न सकिन्छ, थोरै पूँजीबाट लगानी गर्न सकिने भएको कारणले नै यो सबै उमेरका लागि लाभदायक हुन्छ, अझ, युवाहरुमा जान्ने इच्छा, जाँगर तथा उमेरको हिसाबले पनि युवा लगानीकर्ता सेयर बजारमा आउनु राम्रो,’ उनी सेयर बजारमा युवा किन लाग्ने भन्ने प्रश्नमा जवाफ दिदै थिए ।

अन्य पेशामा लाग्दा प्रायः लगानी नै समस्या बन्ने गरेको इतिहास हामी कहाँ साक्षी नै छ । तर, सेयर बजारमात्र एउटा यस्तो क्षेत्र हो, जहाँ लगानीकर्ताले आफ्नो धेरथोर जतिपनि रकम लगानी गर्न सक्छन् ।

अन्य पेशामा आवद्ध हुँदा नै सेयर बजारमा पनि कारोबार गर्न सकिन्छ । हामी कहाँ त्यस्ता थोरै पेशा मात्र छन्, जहाँ एक क्षेत्रमा काम गर्दागर्दै अर्को क्षेत्रमा पनि काम गर्न सकिन्छ ।

कत्तिको जोखिम हुन्छ ?
‘हामीले बिउ रोप्ने भनेको फलको आशाले नै हो, सेयरमा लगानी गर्दा राम्रो भन्नुको अर्थ यसमा आर्जन गर्ने ठाउँको हिस्सा पनि पर्याप्त हुनु हो, राम्रो ज्ञान भएमा सेयरमा लगानी गर्दा डुब्नै पर्ने अवस्था भने आउँदैन । यसको मतलब सेयर बजारमा जोखिम छैन भन्ने पनि होइन,’ उनी अलि लामो ब्याख्या गर्न थाले ।

सेयर बजारमा लगानी गर्न भनेर शारीरिक खटाई गर्नु पर्ने जरुरी छैन । कहिले काहीँ ब्रोकर अफिस धाउनु भनेको खासै सास्तीको विषय पक्कै होइन ।

‘अरुको कुरामा भन्दापनि आफ्नै कुरालाई प्राथमिक आधार बनाउन सक्नु पर्छ, नत्र डुब्नपनि सकिन्छ,’ अमृत भन्छन् ।

सेयर बजारमा कारोबार गरेको व्यक्ति निश्चित ठाउँमा अडिनुपर्छ भन्ने जरुरी छैन । सेयरमा कारोबार गरेका मान्छेले आफ्नो सहभागिता बजार, घर जहाँबाट पनि गर्न सक्छन् । यसमा कुनै बन्देज छैन । समयको पावन्दी छ भनेपनि त्यति धेरै फरक पार्दैन ।

तर, अन्य पेशा तथा व्यवसायमा उपस्थितिको कति महत्व हुन्छ, त्यो हामी सबैले जान्दै सुन्दै आएको कुरा हो । मानिस प्रायः आम्दानीको राम्रो स्रोतको खोजीमा हुन्छन् । त्यस्को लागि सेयर बजार एउटा राम्रो तरिका हो भन्ने ठम्याइ अमृतको छ ।

अझैपनि नेपाली बजारमा हल्लाको भरमा सेयरमा लगानी गर्ने लगानीकर्ताको कमी छैन भन्ने उनको बुझाइ छ । तर, सेयर बजारमा बुझेर लाग्दा राम्रो हुन्छ । तर, उनी आफैं पहिले बुझेर लागेको भने होइनन् । तर, सेयर बजारमा बुझेर मात्रै लाग्नु पर्ने रहेछ भन्ने अहिले उनलाई लागेको छ ।

केही बर्ष अगाडि आफूले किनेको सेयर आफ्नो नाममा बनाउन नै कुर्नु पथ्र्यो, अहिले त्यस्तो छैन । अझ, अनलाइन ट्रेडिङ्को कुराले समयसँगै सहजता थपेको छ । प्रविधिले विश्वमा नै कायापलट गर्न खोजेको अवस्थामा सेयर बजारलाई समेत त्यसको सकारात्मक प्रभाव परेको छ ।

सेयर अभौतिकरणलगायतका कुरा पक्कै सुधारका सूचक नै हुन् । अझ ब्रोकरकोमा धाउने झन्झट, डिस स्लिपभन्दा डिजिटलाईजेसनमा लगानीकर्ता लाग्नु सेयरमा देखिएका सकारात्कम संकेतपनि हुन् भन्ने युवा लगानीकर्ता अमृतलाई लागेको छ ।

कसरी प्रवेश गर्ने शेयर बजारमा ?
शेयर बजारमा छिर्न चाहने नयाँ लगानीकर्ताले कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणको राम्रो अध्ययन गर्नु जरुरी हुन्छ । यस्तै, प्रतिसेयर आम्दानी, रिजर्भ, सरप्लस, पिइ रेसियो लगायतका आधारको अध्ययन गर्न आवश्यक हुन्छ भन्ने अमृतको भनाइ छ ।

‘अरुको कुरामा भन्दापनि आफ्नै कुरालाई प्राथमिक आधार बनाउन सक्नु पर्छ, नत्र डुब्नपनि सकिन्छ,’ अमृत भन्छन् ।

शेयर बजारमा लगानी गर्नुपूर्व धैर्यताको विकास गर्नु जरुरी हुन्छ । यसरी धैर्यतालाई आत्मसाथ गर्न नसक्ने लगानीकर्ता बढी आत्तिने गर्छन् । आफूले हालेको कम्पनीमा होल्ड गर्न सक्नुपर्छ । पोर्टफोलियो बनाएर कारोबार गर्ने गर्नुपर्छ । अमृतको १० वर्षे अनुभवले यही भन्छ ।

एकै दिन करोडको व्यापार गर्ने होइन
सेयर बजारमा एकै दिनमा करोडको कारोबार गर्न तम्सिनु हुन्न । एकै चोटी झ्याप्पै धनी हुने चाहाना गर्यो भने चै सेयर बजारमा पैसा फस्ने तथा डुब्ने खतरा बढी हुने अमृतको भनाइ छ ।

‘थोरै पैसाबाट लगानी गर्ने र बिस्तारै अरु पैसापनि चलाउने गर्नु पर्छ, सेयर किन्दा विभिन्न कम्पनीमा पैसा हाल्नु उचित हुन्छ, एउटै कम्पनीमा पैसा हाल्नु राम्रो हुदैन,’ उनले भने ।


क्लिकमान्डु