संविधान दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन



हेटौंडा । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरु गर्ने भएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस मनाउन मुल समारोह समिति समेत गठन गरिएको छ ।

दिवसलाई व्यवस्थित बनाउन विभिन्न ६ वटा उपसमितिहरु समेत निर्माण गरिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचार प्रसार उपसमिति, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति गठन गरिएको छ ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयको संयोजनमा रचनात्मक क्रियाकलाप व्यबस्थापन समिति, ३ नम्बर प्रदेशका मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेको संयोजकत्वमा विचार गोष्ठि उपसमिति र जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति निर्माण गरिएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवसलाई अन्तरमनबाट मनाउनुपर्ने बताए । उनले दिवस भव्यताका साथ मनाउन सम्पूर्णलाई आग्रह समेत गरे ।


क्लिकमान्डु