एनसेलको डीडीए गर्ने नेपालमा कोही पनि भेटिएन, अब विदेशी खोजिने




काठमाडौं । निजी क्षेत्रको दुरसंचार सेवा प्रदायक एनसेलको डीडीए गर्ने कम्पनी, फर्म वा ब्यक्ति नेपालमा भेटिएन । एनसेलको सेयर खरिद विक्रीमा तिर्नुपर्ने कर दायित्व नतिरेको भन्दै अर्थमन्त्रालय अन्तरगतको ठूला करदाता कार्यालयले गरेको आव्हानमा एनसेलको डीडीए गर्न कसैले पनि प्रस्ताव नगरेका हुन् ।

ठूला करदाता कार्यालयले एनसेलको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्न दोस्रो पटक निकालेको बोलपत्रको म्याद भदौ १८ गते सकिएको छ । पहिलो पटक निकालेको बोलपत्रमा कसैले पनि प्रस्ताव नगरेपछि कार्यालयले दोस्रो पटक बोलपत्र प्रकाशन गरेको थियो ।

‘दोस्रो पटक प्रशासन गरेको बोलपत्रमा पनि कुनै प्रस्ताव परेन, अब विदेशी कम्पनी तथा फर्मको लागि अन्तराष्ट्रिय बोलपत्र प्रकाशन गरेर डीडीए गराउने सोच बनाएका छौं,’ कार्यालय स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

२०७२ भदौमा स्वीडेनको कम्पनी टेलिया सोनेराले आफूसँग रहेको एनसेलको ८० प्रतिशत सेयर स्वामित्व मलेसियन कम्पनी आजियटालाई विक्री गरेको थियो । सो खरिद विक्री प्रकणमा कानुन अनुसार तिर्नुपर्ने पुँजीगत लाभकर नतिरिएको भन्दै सरकारले डीडीए गरेर असुल गर्न लागेको हो । एनसेलले भने आफूले तिर्नुपर्ने कर दायित्व तिरिसकेको बताउदै आएको छ ।

बिक्रेता कम्पनी टेलिया र खरिदकर्ता कम्पनी आजियटाले २०७२ मा १ खर्ब ४४ अर्ब रुपैयाँमा एनसेल बिक्री भएको घोषणा गरेका थिए । यसमध्ये बिक्रेता टेलियाको नाममा ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर निर्धारण सरकारले गरिसकेको छ । सो रकममा पनि ब्याज, जरिवाना तथा हर्जना थप गरेर तिर्नुपर्ने हुन सक्छ ।


क्लिकमान्डु