नेपालमा माग अनुसार स्याउ उत्पादन हुन किन सकेन ?



मनाङ । नेपालमा मागअनुसार स्याउ उत्पादन हुनसकेको छैन । माग पूरा गर्न व्यापारीले विदेशबाट स्याउ आयात गर्दै आएका छन् । उत्पादन बढाउने उद्देश्यका साथ किसानले जिल्लामा स्याउ फार्म स्थापना गर्न लागेका छन् ।

जिल्लामा ‘हाई डेन्सिटि एप्पल फार्म’ले नयाँ प्रविधिबाट स्याउ उत्पादन गरिरहेको छ । सो फार्मका कामदार यतिबेला स्याउको बोट स्याहार–सुसारमा व्यस्त छन् ।

नेस्याङ गाउँपालिका– १, भ्राताङमा ७५० रोपनीमा स्याउखेती गरिएको छ । फार्ममा इटाली र सर्बियाबाट फुजी, गाला र गोल्डेन जातको स्याउको बिरुवा ल्याएर लगाइएको छ । स्याहारमा ध्यान दिनसके एउटै रुखले ४० देखि ४५ किलोसम्म फल दिन्छ ।

“उत्पादन बढाउन बोटमा स्केल कटिङ गर्दै आएका छौँ,” कामदार राजु तामाङले भन्नुभयो । माथिल्लो मनाङको टङ्कीमनाङ, खाङ्सार, ङावल, पिसाङ, घ्यारु र भ्राकाका बासिन्दाले ७३५ रोपनी जग्गा भाडामा लिएर स्याउखेती गर्दै आएका छन् । भदौ अन्तिम साताबाट स्याउ टिप्न थालिन्छ ।

एग्रो मनाङले गतवर्ष तीन सय टन स्याउ उत्पादन गरी रु तीन करोड कमाएको थियो । यसवर्ष पाँचसय टन स्याउ उत्पादन गर्ने एग्रोको लक्ष्य छ ।

स्याउ फार्ममा हाल ५० कामदार कार्यरत छन् । रु २५ करोडको लागतमा सत्ताइस वर्षका लागि जग्गा भाडामा लिएर यहाँ तीन जातका स्याउ लगाइएको छ । स्याउ खेतीसँगै पिसाङमै जुुस उद्योग र भण्डार गहृसमेत स्थापना गरिएको कम्पनीका प्रबन्धक सोमराज गुरुङले बताए ।

“प्रत्येक वर्ष उत्पादन बढ्दै गएको छ, एउटै रुखबाट ४५ किलोसम्म स्याउ उत्पादन हुँदै आएको छ,” उनले भने । यहाँ उत्पादन भएको स्याउ पोखरादेखि काठमाडौँसम्म बिक्री हुने गरेको छ ।

अलैँची टिप्न थाले
यता, लमजुङका किसान अलैँची टिप्न थालेका छन् । उचाइअनुसार फरक फरक समयमा अलैँची पाक्छ । जिल्लाको माथिल्लो क्षेत्रमा अलैँची असोज लागेपछि मात्रै टिप्ने गरिन्छ । किसान अलैँची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् । दिनभरी टिप्ने, राति छोडाउने र फेरि भट्टीमा सुकाउने गरिन्छ । भदौदेखि कात्तिकसम्म अलैँची टिप्ने गरिन्छ ।

जिल्लाका भूलभुले, बाँझाखेत, घनपोखरा, खुदी, गौंडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका किसानले अलैँचीखेती गर्दै आएका छन् । रासस


क्लिकमान्डु