मलेसियाली पूर्व प्रम रजाकलाई कालो धन थुपारेको आरोप
क्वालालम्पुर । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ ।
मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका थिए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित अदालतमा उपस्थित गराइएका उहाँमाथि करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख डलर) भ्रष्टाचार गरेको आरोप लगाइएको थियो, तर उहाँले यसलाई अस्वीकार गरे । आरोप प्रमाणित भएमा उनले १५ वर्ष जेल बस्नुपर्नेछ ।
उहाँ सत्तामा रहँदा गरेका भनिएका विभिन्न तीन वटा भ्रष्टाचारका मुद्दा उनीमाथि लागेका छन् । उनलाई गत महिना पक्राउ गर्दा नै भ्रष्टाचार गरेर अवैध रकम थुपारेको आरोप लागेको थियो । बुधबारको यो आरोप तिनै आरोपमध्येको एउटा हो ।
पूर्व प्रधानमन्त्री रजाक ६५ वर्षका छन् । गत महिना पक्राउ परेका उनी धरौटीमा छ्ुटेका थिए ।
मलेसियाली सरकारले पनि उनी प्रधानमन्त्री रहँदा उनले नै स्थापना गरेको ‘१एमडिबी’ नामको आयोजनामार्फत अरबौँ डलर दुरुपयोग गरेको भनी अनुसन्धान गरिरहेको छ ।
बुधबार अदालतमा उपस्थित भएका पूर्व प्रधानमन्त्री रजाकलाई उहाँमाथि लगाइएका भनिएका ती तिनवटै विषयका बारेमा के थाहा छ भनेर सोधिएको थियो ।
बुधबारै उनको मुद्दा अर्को अदालतमा सारिएको छ । उनको मुद्दाको बारेमा आगामी शुक्रबार थप सुनुवाई हुने बताइएको छ ।
उनी अदालतबाट निस्किएपछि उनको दलका समर्थकहरुले नजिब रजाक अमर रहुन् भनेर नाराबाजी गरेका थिए । उनीहरुले रजाकलाई राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको बताएका थिए । रासस\एएफपी