ह्वात्तै बढ्यो तरकारीको मूल्य, हरियो प्याजमा प्रतिकेजी १ सय १९ रुपैयाँ बढ्यो



काठमाडौं । नयाँ आर्थिक वर्ष यता कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य ह्वातै बढेको छ ।

कालिमाटी बजारमा बोडी, घिउ सिमी, हरियो फर्सी, हरियो लसुन, हरियो धनियाँ, हरियो प्याज, गान्टे मुला लगायतका तरकारीहरुको मूल्य बढेको हो ।

कालिमाटी बजारको सूचाङ्क अनुसार बोडीको औसत मूल्य प्रतिकेजी ३२ रुपैयाँले वृद्धि भएको छ । कालिमाटी बजारमा ४६ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको बोडी यो आर्थिक वर्षयता बढेर ७८ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

घिउ सिमीको मूल्य प्रतिकेजी ३० रुपैयाँले बढेको छ । कालिमाटी बजारमा ५८ रुपैयाँ प्रतिकेजी बिक्री हुने घिउसिमी साउन यता बढेर ८८ रुपैयाँ प्रतिकेजी पुगेको हो ।

हरियो फर्सीमा प्रतिकेजी २५ रुपैयाँ मूल्य वृद्धि भएको छ । साउन अघि ३३ रुपैयाँ प्रतिकेजी बिक्री हुने गरेको हरियो फर्सी साउन यता ५८ रुपैयाँ प्रतिकेजीमा विक्री किनबेच भइरहेको छ ।

हरियो प्याजको मूल्यमा प्रतिकेजी १ सय १९ रुपैयाँ वृद्धि भएको छ । साउन अघि १ सय १५ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको हरियो प्याज हाल २ सय ३४ रुपैयाँ प्रतिकेजी कालिमाटी बजार मै बिक्री भइरहेको छ ।

हरियो धनियाँमा प्रतिकेजी २ सय ८० रुपैयाँ वृद्धि भएको छ । ९५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको हरियो धनियाँ बढेर २ सय ७५ रुपैयाँ प्रतिकेजीमा पुगेको हो ।
यस्तै, हरियो लसुनमा प्रतिकेजी ४० रुपैयाँ वृद्धि भएको छ । कालिमाटी बजारमा ९५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको धनियाँ पछिल्लो समय १ सय ३५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

थान्टे मुला र हरियो खुर्सानीमा भने प्रतिकेजी ३० रुपैयाँ मूल्य वृद्धि भएको छ । ६३ रुपैयाँ प्रतिकेजी गान्टे मुलाको मूल्य बढेर पछिल्लो समय ९३ रुपैयाँ प्रतिकेजी पुगेको छ । खुर्सानी ६२ रुपैयाँ प्रतिकेजीबाट बढेर ९२ रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण भइरहेको कालिमाटी बजारले जानकारी दिएको छ ।

परवल र भिण्डीमा २० रुपैयाँ वृद्धि भएको छ । परवल ४८ रुपैयाँ प्रतिकेजीबाट ६८ रुपैयाँ प्रतिकेजीमा पुगेको छ भने भण्डिी ३८ रुपैयाँ प्रतिकेजीबाट ५८ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

च्याउमा भने १० रुपैयाँ मात्र मूल्य वृद्धि भएको छ । कालिमाटी बजारमा १ सय ६५ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको च्याउ बढेर १ सय ७५ रुपैयाँ प्रतिकेजी पुगेको हो ।

तरकारीको भाउ किन बढ्यो त ? कालिमाटी फलफुल तथा तरकारी बजारका प्रवक्ता विनय श्रेष्ठका अनुसार बर्षात मौसमका कारण उत्पादन कम हुने र बजारमा उत्पादनको आगमन कम भएकै कारण तरकारीको मूल्य यसरी बढ्न गएको हो ।

उनले डिमान्ड भन्दा सप्लाई कम भएका कारण तरकारीको मूल्य वृद्धि हुन गएको बताए ।

‘वर्षाको यो मौसममा सधै यस्तै हो, यस बेला उत्पादन नि कम हुन्छ, तरकारी ल्याउदा ल्याउँदै भनेको बेला आइपुग्न नसक्दा कुइन्छ, त्यसले गर्दापनि तरकारीको मूल्य बढेको हो,’ श्रेष्ठले भने ।


क्लिकमान्डु