तनहुँ हाइड्रोले छान्यो निर्माण कम्पनी, सन् २०२३ मा काम सम्पन्न हुने



काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाले निर्माण कम्पनी छनोट गरेको छ ।

आयोजनाका अनुसार नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सीएमसी छनोट भएको छ । सीएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित)मा खरिद सम्झौता बताइएको छ ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि कर बाहेक)मा खरिद सम्झौता हुने छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले गएको साउन ७ गते बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । दुवै कम्पनीले साउन ८ गते पत्र बुझिसकेका छन् ।

पत्र बुझेको २८ दिनभित्र कम्पनीहरुले कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउनु पर्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदिपकुमार थिकेले बताए । ‘खरिद सम्झौता भएको दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ ।


क्लिकमान्डु