बच्चा जन्माउन अमेरिका कुद्नेहरुलाई लाग्नसक्छ झड्का




बाल्टिमोर । अमेरिकाले कुनै सभा समारोहको लागि मात्रै कोही आउन चाह्यो भने पनि धेरैजसो पर्यटकलाई कम्तिमा ५ वर्षको भिषा दिन्छ । उसको आवत जावतको प्रकृति हेरेर यो पाँच वर्षको अवधीमा कम्तीमा ६÷६ महिनाको लागि अमेरिका आवत जावत गर्न पाईन्छ ।

यसरी आउने जाने क्रममा कोही अमेरिका आउँछन् मात्रै (फर्कदैनन्), कोही फर्किहाले पनि विवाह भएको हो भने बच्चा जन्माउन दौडेर फेरि अमेरिका आईपुग्छन् ।

नेपालीहरुको हकमा त्यति धेरै समाचारहरु बाहिर नआएपनि केही चिनियाहरुले त अमेरिकामा गर्भवती होटल नै सञ्चालन गरेको भेटियो । क्यालिफोर्नियामा एक अपान्टमेन्ट भाडामा लिएर चाईनिजहरुले ४० देखि ८० हजार डलरसम्म लिएर ‘मेड ईन अमेरिका’ बच्चा जन्माउने धन्दा नै चलाएको यहाँको सुरक्षा निकाय डिपाटमेन्ट अफ होमल्याण्ड सेक्यूरेटीले फेला पार्यो । यस अगाडि नै फ्लोरिडामा रसियनहरुले यस्तै अभियान चलाएको फेला पारिएको थियो । करिब ६ महिना अगाडिको यो घटनाले भने अब अमेरिकालाई फरक ढंगले सोच्न बाध्य बनाएको छ ।

केही चर्चित नेपालीहरुको हकमा पनि यस्तै उदाहरण देखिएपछि धेरैलाई लागेको पनि होला आखिर बच्चै जन्माउनको लागि अमेरिका कुद्नुपर्ने मुख्य कारण के हो ? यसको निकै सजिलो एउटै उत्तर छ । ‘मेड ईन अमेरिका’ बच्चा बनाउनु ।

अमेरिकाको कानून अनुसार अमेरिकामा जन्मिएको बच्चा स्वतः अमेरिकी नागरिक हुन्छ र सोही कानूनमा उल्लेख भए अनुसार नाबालकको हक अनुसार उनीहरुको आमाबुबालाई निश्चित समयसम्म अलग गर्न पाईदैन ।

यसको अर्थ हो अमेरिकी नागरिकको रुपमा जन्म लिएको बच्चाको संरक्षणको लागि उनीहरुको आमाबुबालाई पनि कानूनी हैसियत दिईने संभावना बढी हुन्छ । यसरी अमेरिकामा बच्चाकै कारण गैरकानूनी नहुने र बच्चाको भविष्यको लागि पनि विदेशीहरु अमेरिकामा बच्चा जन्माउनकै लागि आउने गर्दछन् । यसरी एक वर्षमा करिब ४० हजार बच्चा अमेरिकामा जन्मने गरेको बताईन्छ ।

अर्कोतर्फ अमेरिकी नागरिकले २१ वर्ष पुगेपछि आफ्नो आफन्तलाई स्पोन्सर गरेर अमेरिका बोलाउन पाउँछन् । यो झिनो एक संभावनाले बच्चा २१ वर्ष पुगेपछि पाउने कानूनी हैसियतको संभावनाले पनि अमेरिकामा बच्चा जन्माउनेको संख्या बढी रहको अनुमान छ ।

केही गर्दा पनि कानूनी हैसियत नपाएकाहरुले यो अस्त्र प्रयोग गर्ने गरेपनि यसैको आधारमा अपराधिक पृष्ठभूमि भएकाहरुलाई अमेरिकाले छुट भने दिँदैन । एक तथ्यांक अनुसार अमेरिकाले करिब २ लाख यस्ता अमेरिकामा जन्मेका बच्चाको अविभावकहरुले देश निकाला गरिसकेको छ ।

‘अमेरिकाले कानूनी रुपमा अमेरिका आउन पाउने अधिकार भएकाहरुलाई गर्भवती भएकै कारण रोक्दैन । तर देखाईएको कारण नभएर अरु नै प्रयोजनको लागि आएको पाईएमा वा कारण एउटा देखाएर अर्कै काममा लागे त्यो भिषा फ्रडतर्फ आकर्षित हुने हुन्छ’ डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरेटिले भनेको छ ।

अमेरिकाको तथ्यांकअनुसार अमेरिका वार्षिक करिब ४० हजार यस्ता पर्यटक बच्चा जन्मिन्छन् । संवैधानिक रुपमा यसरी जन्मिएको बच्चाले अमेरिकाको राष्ट्रपतिसम्म हुने अधिकार राख्दछ । अमेरिकामा जन्मेकोले मात्रै पाउने यो अधिकारको लागि पनि विदेशीहरु बच्चा जन्माउनकै लागि अमेरिका आउने गर्दछन ।

अब होला त यो व्यवस्था खारेज ?
अमेरिकी भूमिमा जन्मेको व्यक्तिले स्वत अमेरिकी नागरिकता पाउने कानूनी प्रावधानको अन्त्य हुनुपर्ने आसयका बहसहरु अमेरिकामा भर्खर सुरु भएको छ । यहाँको चर्चित पत्रिका द वासिंटन पोष्टले यो विषयमा बहस सुरु गरेको छ ।

ट्रम्प प्रशासनका पूर्व राष्ट्रिय सुरक्षा अधिकारी माइकल एन्टोनले पोष्टमा अमेरिकी नागरिकतालाई जन्मजात अधिकार बनाउन नहुने विचार व्यक्त गरेलगत्तै यहाँको संवैधानिक उत्तरदायित्व केन्द्रकी अध्यक्ष एलिजावेध वाईद्रले यो अधिकारलाई कसैले हटाउन नहुने धारणा व्यक्त गरेकी छिन् । जे भएपनि आप्रवासीको विषयमा कठोर रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने यो विषयले केही सयमको लागि खुराकको काम गर्न सक्छ ।

यस अगाडि अमेरिकाको जस्तै व्यवस्था भएका धेरै देशहरुले यस्तो व्यवस्था हटाईदिएको कारण अमेरिकामा पनि यो विषयले प्रवेश नपाउने भन्न सकिन्न । यस अगाडि अष्टेलियाले सन् २००७ मा जन्मको आधार दिईने नागरिकताको व्यवस्थालाई खारेज गरेको थियो भने न्यूजिल्याण्डले २००५, आयरल्याण्ड २००५, फ्रान्सले १९९३, भारतले १९८७, बेलायतले १९८३ तथा पोर्चुगलले १९८१ मै यस्तो व्यवस्था खारेज गरिसकेका छन् । अमेरिकासहित क्यानडा, ब्राजिल, पेरु, मेक्सिको लगायतका देशहरुमा अझैपनि जन्मको आधारमा नागरिकता दिईन्छ ।


क्लिकमान्डु