सरकार र डा केसीबीच वार्ता हुँदै, सहमति जुट्न सक्ने
काठमाडौँ । अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा आज पनि वार्ता हुने भएको छ ।
अनशनरत चिकित्सक डा केसीका माग सम्बन्धमा सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीचको मंगलबारको वार्ता सकारात्मक बनेपछि आजपनि पुनः वार्ता हुन लागेको हो ।
वार्तामा केसीले उठाएका मागका सम्बन्धमा छलफल भई धेरै मागमा दुवै पक्षबीच समझदारी हुने क्रममा रहेको जनाइएको छ ।
आज समझदारी जुटाउने सहमति भएको सरकारी वार्ता टोली संयोजक खगराज बराल र केसीका तर्फबाट वार्ता टोली संयोजक डा अभिषेकराज सिंहद्वारा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
मंगलबार सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रिया शुरु गरेका थिए । उपनेता नेम्वाङले डा केसीको वार्ता टोली र सरकारी पक्षसँग आज विभिन्न चरणमा छलफल गरेका थिए ।
उनले डा केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटासँग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग पनि छलफल गरेका थिए ।
संविधान, कानून र स्थापित अभ्यासलाई भत्कन नदिन संसद्मा दर्ता भएको विधेयक उपर छलफल, समायोजन र परिमार्जन गरी डा केसीका मागमा लचिलो ढंगले सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता केसी पक्षलाई दिलाएका थिए ।
सरकारको उक्त धारणाप्रति डा केसी पक्षका वार्ता टोलीले सकारात्मक प्रतिक्रिया जनाउँदै विधेयकमाथिका टिप्पणी र संशोधनसम्बन्धी विषय समेटिएको लिखित प्रतिवेदन नेता नेम्वाङलाई दिएको थियो ।
विधेयक नै फिर्ता लिनुपर्ने अडानमा रहेको डा केसी पक्ष पछिल्लो पटक विधेयकलाई समायोजन परिमार्जन गरेर जान सहमत भएका छन् ।
चिकित्सा क्षेत्रको सुधारको माग राखी डा केसी २६ दिनदेखि अनशनमा छन् ।