बाबुआमा गुमाएका बालकलाई एसओएसको अभिभावकत्व



पोखरा । बाबुआमा दुवै गुमाएका रोल्पाको थवाङ गाउँपालिका वडा नं १ फुर्तीवाङ स्थायी बसोबास भई हाल पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका नाबालकद्वय विवश र विशेषनले पोखराको रामबजारस्थित एसओएसको अविभावकत्व पाएका छन् ।

गत असार २२ गते शुक्रबार मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा भएको टिपर दुर्घटनामा परी मौषम घर्ती मगर र उनकी श्रीमती जीतमाया घर्ती मगरको मृत्यु भएपछि नाबालकद्वय विवश र विशेषन बिचल्लीमा परेको समाचार प्रकाशित भएको थियो ।

यो समाचार विभिन्न अनलाइनका साथै पत्रपत्रिकामा प्रकाशित भएपछि नाबालकद्वयका सम्बन्धमा सहयोगी संस्था एवं निकायको ध्यानाकर्षण भएको थियो ।
बिचल्लीमा परेका नाबालकद्वयको घटना सञ्चारमाध्यममा आएलगत्तै बालकप्रति देश विदेशबाट सहानुभूति प्रकट भएको कुरा सामाजिक सञ्जालमा छाएपछि ती बालकको अभिभावकत्व एसओएसले ग्रहण गरेकामा आफूहरू निकै हर्षित बनेको रोल्पा–पोखरा सम्पर्क समाजका सल्लाहकार आशमान रोक्काले बताए ।

“अनाथ यी बालकले आजबाट एसओएसको संरक्षकत्व पाएका छन्”, उनले भने, “बाबुआमाको मृत्युसँगै अनिश्चित बनेको यिनीहरूको भविष्य अब भने सुनिश्चित बनेको छ ।”

रोल्पा–पोखरा सम्पर्क समाजका अध्यक्ष प्रसाद बुढामगरले अनाथ बालकको बिचल्ली भएको विषयलाई सञ्चारमाध्यमबाट बाहिर ल्याइदिएकामा आभार व्यक्त गरे ।

नाबालकद्वय आजदेखि आफूहरूको संरक्षणमा रहेको जानकारी दिँदै एसओएस योजना निर्देशक भगतकुमार श्रेष्ठले बालिग अवस्थासम्म यिनीहरूको पालपोषण एवं पठनपाठनको व्यवस्थापन एसओएसमार्फत हुने बताए ।

“एसओएसले विपत् एवं यस्तै समस्यामा परेका बालबालिकाको संरक्षणका साथै उनीहरूको पालनपोषण एवं पठनपाठनमा योगदान गर्दै आएको छ”, उनले भने ।

एसओएसका निर्देशक प्रदीपभक्त आचार्यका अनुसार पोखरामा १४७ बालबालिका एसओएसको संरक्षणमा रहेकामा विवश र विशेषन थप भई उक्त संख्या १४९ पुगेको छ ।

एसओएस परिसरमा रहेका विभिन्न १५ घरमा बालबालिकाको हेरचाह गर्ने आमाको व्यवस्था गरिएको र प्रत्येक घरमा आठदेखि १२ जनासम्म बालबालिका राख्ने गरिएको छ ।

आजदेखि विवश र विशेषनलाई गुराँस हाउसमा आमा पार्वती पाण्डेले हेरचाह गर्नुहुने एसओएसकी सहनिर्देशक भवानी बस्नेतले जानकारी दिए ।

बाह्र वर्षीय विवश र उनका भाइ छ वर्षीय विशेषन घर्ती मगरलाई उनका बाबुआमा मौषम र जितमाया पोखराको नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी छोडेको लगभग तीन महिनापछि टिपर दुर्घटनामा परी मृत्यु भएको थियो ।

गोरखा बारपाककी आशकुमारी घलेलाई कोठामा उनीहरूको हेरचाह गर्ने जिम्मा लगाएर घर्तीमगर दम्पती मुस्ताङ पुगेका थिए ।

घलेका अनुसार वैशाख अघि त्यही नजिकैको रामघाटमा बालुवा बोकेर गुजारा गर्दै आएकामा वर्षात् शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि उनीहरू रोजगारीको खोजीमा वैशाखमा मुस्ताङ पुगेका थिए ।

घरपरिवालाई सुखी र खुशी बनाउने सोचका साथ अघिल्लो वर्ष दुबही गएका मौषम बिरामी भएपछि गएको फागुनतिर स्वदेश फर्की रामघाटमा श्रीमतीसँगै बालुवा बोकेर गुजारा गर्दै आएका थिए ।

सेती बढेसँगै बालुवा बोक्ने काम पनि बन्द भएपछि मुस्ताङ गएका मौषमलाई गएको तीन महिना नबित्दै नियतिले नराम्रोसँग ठग्यो, दुर्घटनामा श्रीमतीसहित उनले ज्यान गुमाउन पुगे । रासस


क्लिकमान्डु