स्थानीय बीउ जोगाउँदै किसान, कृषि अनुसन्धान परिषद्लाई पनि सहयोग
ललितपुर । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमानामा पर्ने साँगाका किसान रामकृष्ण ढकाल समय–समयमा आफूसँग भएका वा गाउँघरमा भेटिएका स्थानीय जातका बाली बोकेर नेपाल कृषि अनुसन्धान परिषद् नार्क पुग्छन ।
आफूसँग भएको कुनै बाली गाउँघरमा कम देखिएपछि उनी नार्कअन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रलाई उपलब्ध गराउँछन् । बालीमा कुनैखालका रोगले बीउ नै नष्ट हुन सक्छ । बीउ बैंकका रुपमा रहेको केन्द्रमा राखेपछि एक सय वर्षसम्म सुरक्षित हुने ढकालले बताए । आफूसँग भएका रैथाने जात पुस्तौँसम्म जोगाउनुपर्छ भन्ने धारणाले उनले केन्द्रमा बीउ दिने गरेका हुन् ।
यस्तै, दलचोकीका धु्रव सापकोटा पनि स्थानीय जातका बीउ जोगाउनुपर्छ भन्ने धारणा राख्ने किसान हुन् । पहिले शिक्षण पेशामा आबद्ध उनी अहिले नेपालको पहिलो बीउ बैंकका रुपमा रहेको दलचोकी बीउ बैंकको अध्यक्ष हुन् ।
बैंकले पैसा जस्तै गरेर बीउ जम्मा गर्ने र चाहिएका समयमा किसानलाई दिने गरेको छ । उनले पनि स्थानीयस्तरमा भएका जात कुनै लोप हुन लागे संरक्षणका लागि केन्द्रमा ल्याउने गरेका छन् ।
हाइब्रिड र उन्नत जातको बढ्दो प्रयोगका कारण स्थानीय जात लगाउने किसानको संख्या कम हुँदै गएको छ । कतिपय किसान रैथाने बीउ मासिन दिन नहुनेमा सजग रहेको केन्द्रमा कार्यरत वैज्ञानिक कृष्णहरि घिमिरेले बताए ।
“यहाँ राख्दा आफैँले पछि चाहिँदा वा सन्तानको पालासम्म सुरक्षित हुने भन्दै किसानले बीउ राख्न ल्याउने गरेका हुन्,” घिमिरेले भने । कतिपयले भने आफ्नो सन्तान खेती नगर्ने हुँदा बीउ नजोगिने हो कि भन्ने चिन्ताले संरक्षणका लागि ल्याउने गरेका छन् ।
विभिन्न किसिमका रैथाने बालीमा फरक फरकखालका गुण भएको घिमिरेले बताए । हाम्रा कतिपय स्थानीय जातमा विशेषखालका गुण पाइन्छ । कतिपय जातको अन्न खाँदा लामो समयसम्म भोक नलाग्ने, कतिपय अन्न बासनादार त कतिपय फरक खालका परिकारका लागि पुस्तौँदेखि प्रयोग हुँदै आएका अन्न छन् । तिनलाई संरक्षण गर्नुपर्छ भनेर कतिपय किसानले वर्षौंदेखी थोरै परिमाणमा भए पनि लगाउने गर्छन् ।
“उत्पादन कम वा अरु कुनै कमजोरीले गर्दा उन्नत जात लगाउने किसानले बीउ जोगाउनकै लागि भए पनि स्थानीय जात लगाएका छन्,” घिमिरेले भने ।
विशेष गरेर धान पर्याप्त फलाउन किसानले हाइब्रिड वा उन्नत जात लगाउँछन् भने चाडपर्वका लागि अनदी धान, बासनादार लगायतका गुण भएका धान पनि थोरै परिमाणमा रोप्ने गर्छन् ।
स्थानीय जात हराएरै जानु राम्रो नभएको नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउँछन् । पुस्तौँदेखि रोपिँदै आएको जात त्यस ठाउँको हावापानीका लागि सुहाउँदो हुन्छ । अहिले देशभर नै जलवायु परिवर्तनको असर बालीमा परेको छ । स्थानीय जातले देशभरको समस्या समाधान गर्न नसके पनि त्यस ठाउँको समस्या समाधान गर्न सक्ने थियो ।
“अहिले अधिकांश ठाउँमा स्थानीय जात लोप नै भइसके,” उनले भने ।
सरकारी र गैरसरकारी संस्थाले स्थानीय जातका बाली संरक्षणलाई बेवास्ता गरेको उनको आरोप छ । अधिकांश कार्यक्रम हाइब्रिडलाई प्रोत्साहन गर्ने छन् । “समय समयमा ठूलो काँक्रो, ठूलो फर्सी वा ठूलो गाई भन्दै किसानलाई सम्मान गर्नुले हाइब्रिडलाई प्रोत्साहन गर्छ,” पराजुलीले भने ।
केन्द्रमा समय समयमा स्थानीय जातका बीउ खोज्दै किसान आउने गर्छन् । केन्द्रले बीउका लागि १० देखि २० ग्रामसम्म दिने गरेको उनले बताए । किसानले त्यसैलाई वर्षेनी रोप्दै गएर धेरै बनाउन सक्छन् । किसानलाई दिएर कम भएका बीउ बढाउनका लागि केन्द्रले पनि कुनै वर्षमा खेतबारीमा रोपेर त्यसको मात्रा बढाउँछ ।
“हामी आफैँ अध्ययनका लागि र किसानलाई चाहिँदा दिनका लागि पनि भण्डारण गरेर राख्छौँ,” पराजुलीले भने ।
नार्कअन्तर्गतकै कृषि वनस्पति महाशाखाले झण्डै ५० वर्षदेखि संकलन गरेको बीउ केन्द्रले सात वर्ष पहिलेदेखि संरक्षण गरेर राखेको हो । कतिपय कर्मचारीले ल्याएका त कतिपय किसानले बैंकमा जम्मा गरेका बीउ यहाँ छन् । अधिकांश जातका बीउ चिसो ९माइनस २० डिग्रीसम्म० मा राखेर लामो समयसम्मका लागि सुरक्षित गरिन्छ ।
लामो समयसम्म रहने बीउ धेरै ठण्डा र छोटो आयु हुने बीउ त्योभन्दा कम तापक्रममा राखेर सुरक्षित गरिन्छ । केन्द्रले समय समयमा बीउको उमारशक्ति परीक्षण गर्दै आएको छ ।
केन्द्रमा अहिले १३० थरी बालीका गरेर ११ हजारभन्दा बढी जात संरक्षित छ । सबैभन्दा बढी धानबालीको दुई हजार ३०० जात छन् । कतिपय जात फरक स्थानबाट आएका एकैथरी बीउ हुन सक्छ । दोहोरिएकालाई घटाउने र नयाँ भेटिएका जात थप्दै जाने केन्द्रको योजना छ ।
उनले भने, “हामीसँग संरक्षित बालीका जात बढ्ने र घट्ने भइरहन्छ । रासस