निर्धन संस्थाद्वारा टिकाथलीमा साबुन बनाउने तालिम



काठमाण्डौं । नक्सालमा कार्यालय रहेको निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली तथा ठेचोका १६ जना विपन्न गरीब महिलाहरुको सहभागितामा २०७५ असार ७ गतेदेखि ८ गतेसम्म ललितपुर जिल्लाको टिकाथलीमा “साबुन बनाउने तालिम” सम्पन्न गरेको छ ।

उक्त तालिम सम्पन्न गरेको निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले जानकारी गराएकी छिन् । तालिममा लक्ष्मी राई र सपना भुलुनले प्रशिक्षण प्रदान गरेका थिए ।

तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट विष्णुमाया भण्डारी, कल्पना तामाङ्ग, अप्सरा थापा, शान्ति महतले तालिमको मूल्याकङ्कन गरेका थिए ।साबुन बनाउने तालिम फाईदाजनक तालिम रहेको तालिमका सहभागीहरुले बताएका थिए ।

प्रशिक्षक लक्ष्मी राई, ग्लोबल पिस फाउण्डेसनका कार्यक्रम अधिकृत सुस्मित सुनुवार, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड टिकाथली शाखाका प्रमुख बन्दना ज्ञवाली, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ठेचो शाखाका प्रमुख हिरालाल वि.क.ले समापन सत्रमा मन्तब्य दिएका थिए ।

मन्तब्यका क्रममा यस तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न दुई तीन जना मिलेर काम गर्न वक्ताहरुले सुझाएका थिए ।

निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै समापन मन्तब्य दिएकी थिईन् ।

निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत पन्तले वि.सं. २०४७ मा स्थापित यस निर्धन संस्थाले वि.सं. २०४९ सालमा नेपालमा सर्वप्रथम लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ श्रावण १ गते विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूर्ण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेपश्चात मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक, सामाजिक तथा मानसिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम वित्तीय साक्षरता तालिम र सचेतनामूलक कार्यक्रम आदि संचालन गर्दै आई रहेको समेत जानकारी गराएकी थिईन ।

निर्धन संस्थाको आयोजना तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संयोजनमा संचालन भएको उक्त तालिमको समापन सत्रको संचालन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठले गरेका थिए ।

यस तालिममा सहभागीहरुले लुगाधुने साबुन बनाउने तथा झोल साबुन बनाउने सीप सिकेको निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिष कोनाजोले जानकारी दिए ।


क्लिकमान्डु