प्रहरी ‘बढी एक्टिभ’ हुँदा राजस्वमा फेरि लफडा, साक्षी मात्रै बस्न नजाने कर अधिकृतको अडान




काठमाडौं । केही दिन अगाडिको राजस्व समीक्षा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व छलि रोक्न प्रहरीले अपेक्षित सहयोग नगरेको गुनासो गरे ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल पनि सहभागी सो बैठकमा अर्थमन्त्रीले प्रहरीको ‘राम्रो सहयोग’को अपेक्षा गरे ।

भर्खरै महानिरिक्षक बनेका खनालले पनि अर्थमन्त्रीको आग्रहलाई अलि बढी नै ‘गम्भीरतापूर्वक’ लिए । बैठक लगत्तै उनले मातहत अधिकृत र निकायलाई निर्देशन दिदै राजस्व छलि नियन्त्रणमा अझै सक्रियता बढाउन भने ।

महानिरीक्षक खनालको निर्देशनपछि प्रहरीले देशभर नै शंकास्पद फर्म, ब्यवसायी र उद्योगहरुमा छापा हान्न थालेको छ । यसरी प्रहरीले छापा हान्दा राजस्व प्रशासनका अधिकारीलाई थाहा नदिइ पछि बोलाउने मात्रै गर्न थालेको छ ।

प्रहरीको यस्तो कदम विरुद्ध कर प्रशासन नै उत्रिएको छ ।

‘राजस्वको छापा मार्ने काम हाम्रो हो, प्रहरीले सहयोग गर्ने हो, प्रहरीले छापा हान्ने र हामीलाई दर्शकको रुपमा बोलाएर साक्षी मात्रै राख्ने हो भने त्यस्तो ठाउँमा हामी जानुको औचित्य हुदैन,’ कर प्रशासनसँग सम्बन्धित एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने ।

प्रहरीको यस्तो सक्रियता बढेपछि कर आन्तरिक राजस्व विभागले सबै कर कार्यालयहरुलाई राजस्व छापा हान्ने कार्यमा आफैले नेतृत्व लिन निर्देशन नै दिएको छ । विभागले सबै कर कार्यालयहरु आवश्यक परे प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पनि यस्तो कार्य गर्न भनेको हो ।

‘प्रहरीले छापा हानेको ठाउँमा साक्षी बस्न नजानुस् भनेर माथिबाट निर्देशन आएको छ, राजस्वसँग सम्बन्धित विषय कर प्रशासनले नै सम्बोधन गर्ने हो भन्दै हामीले सिडिओमार्फत प्रहरी प्रशासनलाई अवगत गराएका छौं,’ एक कर कार्यालयका प्रमुखले भने ।

पछिल्लो समयमा राजस्व छली नियन्त्रण्मा प्रहरी सक्रियता बढेको प्रहरी प्रधान कार्यालय स्रोतले पुष्टी गरेको छ । प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अबैध कारोबार नियन्त्रणमा प्रभावकारिता बढाएको जानकारी दिएको छ ।


क्लिकमान्डु