४०० जनाको केन्द्रिय समिति बनाउने एमाले-माओवादी प्रस्ताव



काठमाडौं । एकीकृत पार्टीको केन्द्रिय समितिमा रहने सदस्यको विषयमा कुरा मिल्न नसक्दा पछाडि धकेलिदै आएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताका लागि भन्दै ४०० जनाको केन्द्रिय समिति बनाउने प्रस्ताव गरिएको छ ।

एमालेमा २०३ जनाको केन्द्रीय समिति रहेको छ । माओवादी केन्द्रले आफ्नो ७७ सदस्यिय केन्द्रिय सचिवालयलाई विस्तार गरेर १५० देखि २०० जनाको सम्म बनाउने र सोही आधारमा एकता प्रक्रिया अगाडि बढाउने विषमया छलफल केन्द्रीत रहेको बताइएको छ ।

एकताका लागि माओवादीले समानताका आधारमा प्रक्रिया अगाडि बढाउनुपर्ने माग राख्दै आएको छ । एमालले भने प्रतिशत तोकेर एकता नहुने भन्दै अडान राख्दै आएको । यी दुई अडानका बीचमा सहमति खोज्ने प्रयास जारी रहेको छ ।

एकताका विषयमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहीबार छलफल हुने कार्यक्रम रहेको छ ।

एकता प्रक्रियामा सहभागी नेताहरुका अनुसार करिब ४०० जनाको केन्द्रिय समिति बनाउने गरी आवश्यक तयारी गरिएको छ ।

यसअघि रामबहादुर थापा नेतृत्वको कार्यदलले दुई सय ९९ सदस्यीय केन्द्रिय समिति बनाउन प्रस्ताव गरेको थियो । कार्यदलले गरेको प्रस्ताव भन्दा १०० जना बढी केन्द्रिय समिति सदस्य रहने गरी तयारी गरिएको हो ।

केन्द्रिय समितिको संख्यामा सहमति जुटेको अवस्थामा माक्र्सको २०० औ जन्मजयन्तीको अवसर पारेर मइ ५ तारिक अर्थात यही वैशाख २२ गते शनिवारसम्म पार्टी एकताको मिति घोषणा गर्ने तयारी गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकमा जानकारी गराएका थिए ।

सहमतिअनुसार एमालले अंगाल्दै आएको निर्वाचन चिन्ह सूर्यमा माओवादी केन्द्र सहमत भएको छ भने माओवादीले राख्दै आएको जनयुद्धको विषयलाई एकीकृत पार्टीको दस्तावेजमा राख्न एमाले सहमत भएको छ ।

केन्द्रीय समितिमा रहने सदस्यको संख्याका विषयमा सहमति हुन मात्रै बाँकी रहेको छ । माओवादी र एमालेबीच यस अघि नै पार्टीमा दुई अध्यक्ष रहने विषयमा सहमति भइसकेको छ ।

एउटा अध्यक्ष प्रधानमन्त्री भएको समयमा अर्को अध्यक्ष पार्टीमा कार्यकारी रहने र कार्यकारी अध्यक्ष रहेका व्यक्ति प्रधानमन्त्री भएमा सेरेमोनियल रहने गरी बीचको बाटो खोजिएको बताइएको छ । तर पार्टी बैठकको अध्यक्षता कसले कसरी गर्ने भन्ने विषयमा भने सहमति जुटाउन बाँकी रहेको बताइन्छ ।

यद्यपी, यस विषयमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएपछि कुरा मिल्ने दावी गरिएको छ ।

एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको २१ औ शताब्दीको जनवादलाई महाधिवेशनमा लगेर टुंग्याउनेमा पनि दुवै पार्टीका नेता सहमत भएका छन् ।


क्लिकमान्डु