डलर बलियो बन्दा र अमेरिकी केन्द्रीय बैंकको निर्णय पर्खिंदा सुनको मूल्यमा गिरावट

434
Shares

एजेन्सी । मंगलबार विश्व बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

अमेरिकी डलर बलियो बन्नु र लगानीकर्ताहरूले ब्याजदरको भविष्यका बारेमा स्पष्ट संकेत पाउन अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको आगामी नीतिगत निर्णयलाई पर्खिरहनुले सुनको मूल्यमा दबाब सिर्जना गरेको हो ।

सोमबार १ प्रतिशतसम्म बढेको स्पट गोल्डको मूल्य मंगलबार नेपाली समयअनुसार दिउँसोसम्ममा ०.६ प्रतिशतले घटेर प्रति औंस ४,०५१.०७ डलर कायम भएको छ । त्यसैगरी, अगस्टमा आपूर्ति हुने अमेरिकी गोल्ड फ्युचर्सको मूल्य पनि ०.६ प्रतिशतले ओरालो लाग्दै प्रति औंस ४,०५१.६० डलरमा झरेको छ ।

अमेरिकी डलरको विनिमय दर एक महिनायताकै उच्च विन्दु नजिक रहेकाले अन्य मुद्रामार्फत सुन खरिद गर्नेहरूका लागि यो महँगो पर्न गएको छ । वित्तीय सूचना नेटवर्क टेस्टीलाइभका ग्लोबल म्याक्रो प्रमुख इल्या स्पिभाकका अनुसार, अहिले सुनको बजार ३,९५० देखि ४,२०० डलरको साँघुरो दायरामा तलमाथि गरिरहेको छ र बजार अहिले केवल फेडरल रिजर्भको संकेतको पर्खाइमा छ । फेडको दुई दिने नीतिगत बैठक बुधबार सम्पन्न हुँदैछ जसले बजारको आगामी दिशा तय गर्नेछ ।

सीएमई फेडवाचका अनुसार, ६२ प्रतिशत बजार सहभागीहरूले फेडले यसपटक ब्याजदर यथावत राख्ने अपेक्षा गरेका छन् भने ३८ प्रतिशतले कम्तीमा २५ आधार बिन्दुको वृद्धि हुन सक्ने अनुमान गरेका छन् । ब्याजदर बढ्न सक्ने अनुमान गर्नेहरूको संख्या गत हप्ताको १६ प्रतिशतको तुलनामा उल्लेख्य रूपमा बढेको हो ।

यसबाहेक आगामी सेप्टेम्बरको बैठकमा ब्याजदर बढ्ने सम्भावना ८१ प्रतिशत रहेको बजारको विश्लेषण छ ।

यसैबीच अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार फेडलाई ब्याजदर घटाउन आग्रह गर्दै अमेरिकामा विश्वकै सबैभन्दा कम ब्याजदर हुनुपर्ने धारणा राखेका छन् ।

ट्रम्पले इरानसँग राम्रो वार्ता भइरहेको र द्वन्द्व समाधानका लागि सम्झौता हुन सक्ने सम्भावना रहेको बताए पनि वार्ता असफल भएमा पुनः हवाई आक्रमण सुरु हुने चेतावनी दिएका छन् । यसैबीच तेहरानले अमेरिकी सैन्य अभियानमा देखिएको विश्रामलाई परीक्षण गरिरहेको देखिन्छ किनकि सोमबार साउदी अरब, जोर्डन र इराकमा ड्रोन आक्रमणहरू भएको रिपोर्ट सार्वजनिक भएको छ ।

स्पिभाकका अनुसार, फेडको बैठकले सेप्टेम्बरमा ब्याजदर वृद्धिका लागि आधार तयार पारेन भने सुनको मूल्य प्रति औंस ४२ सय डलरभन्दा माथि पुग्न सक्छ ।

अन्य बहुमूल्य धातुहरूको मूल्यमा पनि मंगलबार गिरावट देखिएको छ । स्पट सिल्भरको मूल्य १.६ प्रतिशतले घटेर प्रति औंस ५७.४८ डलर कायम भएको छ भने प्लेटिनम ०.६ प्रतिशतले घटेर १,६११.४८ डलरमा झरेको छ ।

त्यसैगरी प्यालेडियमको मूल्य पनि १.४ प्रतिशतले ओरालो लाग्दै प्रति औंस १,२७४.१० डलरमा सीमित भएको छ ।