स्वदेशी ड्रोन उत्पादनमा अमेरिकाको कडा नीति, चिनियाँ पाटपुर्जामा प्रतिबन्ध

49
Shares

एजेन्सी । अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) का एक वरिष्ठ अधिकारीले स्वदेशी ड्रोन उद्योग स्थापना गर्ने प्रयास अहिले सबैभन्दा कठिन र प्रारम्भिक चरणमा रहेको स्वीकार गरेका छन् ।

ड्रोन डोमिनेन्स प्रोग्रामका प्रमुख ट्राभिस मेट्जका अनुसार, अमेरिकामा ड्रोनको उत्पादन क्षमता हाल युक्रेनको तुलनामा निकै न्यून छ । युक्रेनले यस वर्ष ६० देखि ७० लाख साना फर्स्ट–पर्सन–भ्यु (एफपीभी) अट्याक ड्रोन उत्पादन गर्ने लक्ष्य राखेको छ जुन प्रतिमहिना करिब ५ लाख थान हुन आउँछ ।

यसको विपरीत पेन्टागनको १.१ अर्ब डलरको कार्यक्रमले आगामी फेब्रुअरीसम्ममा जम्मा २ लाख थान ड्रोन मात्र अर्डर गर्नेछ । मेट्जले शून्यबाट २ लाखको लक्ष्यसम्म पुग्न निकै कठिन भए पनि एकपटक स्वदेशी क्षमता र संयन्त्र विकास भएपछि उत्पादनलाई तीव्रता दिन सजिलो हुने बताउनुभयो ।

पेन्टागनले हालै सैन्य ड्रोनहरू पूर्ण रूपमा अमेरिकी पाटपुर्जाबाटै बन्नुपर्ने कडा नियम लागू गरेको छ । त्यसले उत्पादनको गति बढाउने कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ । गत जुलाई २३ मा सार्वजनिक गरिएको संशोधित आपूर्ति शृंखला रूपरेखाले साना मानवरहित विमान प्रणालीका लागि पूर्ण रूपमा स्वदेशी संयन्त्र तयार गर्ने सरकारको अन्तिम लक्ष्य रहेको स्पष्ट पारेको छ ।

मेट्जले सेमिकन्डक्टर जस्ता महत्त्वपूर्ण पाटपुर्जाहरूको सहज उपलब्धता नहुनु ड्रोन उद्योगमा मात्र नभई समग्र अमेरिकाका लागि ठूलो समस्या रहेको स्वीकार गरे । आगामी अगस्टमा हुने परीक्षणमा सहभागी १९ वटा कम्पनीका कुनै पनि ड्रोनमा चीनमा बनेका ब्रसलेस मोटर वा ब्याट्री प्याक जस्ता प्रतिबन्धित सामग्री प्रयोग गर्न पाइने छैन ।

मेट्जका अनुसार, विगतमा खरिद गरिएका अधिकांश ड्रोनहरूमा चिनियाँ मोटरहरू प्रयोग भएका थिए । तर, अब उक्त मापदण्डलाई निकै कडा बनाइएको छ ।

अमेरिकाले अन्ततः ड्रोन उद्योगमा युक्रेनको स्तरमा पुग्ने र यस क्षेत्रमा पनि विश्व च्याम्पियन बन्ने लक्ष्य राखेको छ । अर्को महिना कोलोराडोको फोर्ट कार्सनमा हुने गौन्टलेट–२ परीक्षणमा सहभागी हुन आमन्त्रित ६ वटा युक्रेनी कम्पनीहरूले भविष्यमा अर्डर पाउनका लागि अमेरिकी उत्पादकहरूसँग संयुक्त पहल सुरु गर्नुपर्ने शर्त राखिएको छ ।

यसै अन्तर्गत युक्रेनी कम्पनी एफ–ड्रोनले ओहायोस्थित युक्रेनियन डिफेन्स ड्रोनसँग र जनरल चेरीले न्यु ह्याम्पसायरको विल्कोक्स इन्डस्ट्रिजसँग साझेदारी गरिसकेका छन् । यो रणनीतिको मुख्य उद्देश्य युक्रेनको युद्धभूमिमा प्राप्त अनुभवलाई अमेरिकी उत्पादन क्षमतामा रूपान्तरण गर्नु र वैदेशिक आयातमाथिको निर्भरता हटाउनु हो ।

युक्रेनी कम्पनीहरूले भविष्यमा अर्डर प्राप्त गर्नका लागि अमेरिकाभित्रै उत्पादन सुरु गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।