
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सिरहा र सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन र तनाव सिर्जना भएको छ ।
आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
घटनाको विरोधमा मंगलबार सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक (चोहर्वा) मा स्थानीय बासिन्दाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने र प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन् ।
आन्दोलनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा समेत माग गर्दै चर्को नाराबाजी गरेका छन् ।
प्रदर्शनका कारण राजमार्ग अवरुद्ध भएको छ ।
यसअघि सोमबार पनि सिरहाको कर्जन्हा (बन्दीपुर), गोलबजार (गोलपार्क) र धनगढीमाई (कसहा चोक) मा विरोध प्रदर्शन भएको थियो।
घटनापछि बिग्रिएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सुनसरी प्रशासनले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु र निषेधाज्ञा जारी राखेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार पूर्व-पश्चिम राजमार्ग क्षेत्रको कर्फ्यु हटाइए पनि हरिनगर, भुटाहा, कप्तानगञ्ज, भुस्की र देवानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु कायमै छ।
प्रशासनले हरिनगर र देवानगञ्ज गाउँपालिकाभरि आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । अवस्थालाई सामान्य बनाउन र थप हिंसा हुन नदिन नेपाली सेना समेत परिचालन गरिएको छ।
सुनसरीमा सोमबार केही शान्त देखिएको आन्दोलन मंगलबार बिहानैदेखि पुनः चर्किएको हो । सुनसरीको लौकी र फूलचोक क्षेत्रमा प्रदर्शनकारीहरूले टायर बालेर मुख्य सडक अवरुद्ध पारेका छन् । प्रदर्शनकारीले सडकमा अवरोध सिर्जना गरेपछि आवागमन प्रभावित भएको हो ।
प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबैलाई सहयोगको अपिल गरेको छ भने प्रदर्शनकारीहरूले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।





प्रतिक्रिया