सुनसरीको कप्तानगञ्ज प्रकरण: सिडिओ र प्रदेश प्रहरी प्रमुखलाई फिर्ता बोलाइयो


विराटनगर । सुनसरीको सीमावर्ती देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएपछि उत्पन्न भएको तनावलाई लिएर गृह मन्त्रालयले कोशी प्रदेश प्रहरी प्रमुखसहित सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालय फिर्ता बोलाएर संखुवासभाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाएको छ ।

त्यसैगरी कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा डीआईजी शेखर खनाललाई पठाउने तयारी गरेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेबेलाई फिर्ता बोलाएर उनको ठाउँमा एसपी पुष्पराज मल्ललाई पठाएको छ । त्यसैगरी सशस्त्र प्रहरीको कप्तानगञ्ज ब्युरोमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता गरेर डीएसपी मदन नाथलाई पठाइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । झडपका क्रममा २४ जना घाइते भएका छन्, जसमा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन् ।

प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको थियो । घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २० वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भएका छन् । त्यसैगरी मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रवीन्द्र मेहता, अर्का अमितकुमार यादव तथा सुनीलकुमार मेहताको विराटनगरस्थित न्यूरो अस्पताल र विराट अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको विस्तृत अध्ययन गरी एक सातामा प्रतिवेदन बुझाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

थप हिंसा भड्किन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान देवानगञ्ज, कप्तानगञ्जसहित हरिनगरा आसपासमा बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन जारी रहेकाले मध्याह्नदेखि नेपाली सेनालाई परिचालन गरिएको छ ।

प्रदर्शनकारीले कर्फ्युकै समयमा प्रदर्शन, आगजनी र तोडफोड गर्नुका साथै सदरमुकाम इनरुवा बजार बन्द तथा यातायात सञ्चालनमा समेत रोक लगाएका थिए । कप्तानगञ्ज घटनाको विरोधमा विराटनगर बजार पनि केही समय बन्दको आह्वान गरिएको थियो ।

झडपमा ९ सर्वसाधारण र १३ सुरक्षाकर्मी गरी २२ जना घाइते भएका छन् । घाइते ९ जनाकै शरीरका विभिन्न भागमा गोली लागेको छ ।

विराटनगरको न्यूरो अस्पतालमा उपचाररत जयप्रकाश मेहताको पेटमा लागेको गोली शल्यक्रिया गरेर निकालिएको छ । सोही अस्पतालमा उपचाररत मिथलेश मेहताको पेटको बायाँ भागमा, हरेराम यादवको देब्रे तिघ्रामा र अमलेश मेहताको ढाड र गर्धनमा गोली लागेको छ । न्यूरो अस्पतालका सर्जन डा. सुदीप खनियाले एक जनाको शल्यक्रिया गरिएको र उनको शरीरबाट बुलेट निकालिएको पुष्टि गरे ।

त्यस्तै, विराट नर्सिङ होममा उपचाररत रवीन्द्र मेहताको देब्रे तिघ्रामा गोली लागेका कारण उनलाई आईसीयूमा राखिएको छ । सोही अस्पतालमा अमित कुमार यादवको कम्मरमुनि, सुनील कुमार मेहताको बायाँ पाखुरामा र सुनील मेहताको देब्रे पिडुलामा गोली लागेको छ । अर्का घाइते अमित यादवको पेट र देब्रे हातमा गोली लागेकाले नोबेल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

साउने सोमबारका लागि बोलबम यात्रामा निस्कन लागेको एउटा समूहले डीजे बजाएको विषयलाई लिएर आइतबार राति करिब ९ बजे दुई पक्षबीच विवाद सुरु भएको थियो । सामान्य भनाभनबाट सुरु भएको विवादले छोटो समयमै उग्र रूप लिँदा दुवै पक्षबाट लाठी, ढुङ्गा र भाला प्रहार भएको थियो । उत्तेजित भीडले स्थानीय घर, मेडिकल पसल र सवारीसाधनमा तोडफोडका साथै आगजनीको प्रयास गरेपछि कप्तानगञ्ज बजार क्षेत्र युद्ध मैदान बनेको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरे पनि भीड सुरक्षाकर्मीमाथि नै जाइलागेपछि सशस्त्र प्रहरीले गोली चलाएको सुनसरी प्रशासनको दाबी छ । घटनामा नेपाल प्रहरीले ३ राउन्ड र सशस्त्र प्रहरीले २२ राउन्ड हवाई फायर गरेको बताइएको छ ।