
काठमाडौं । नेपालीले पछिल्लो एक वर्षमा करिब ६७ अर्ब १७ करोड रुपैयाँको मोबाइल खरिद गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा भित्रिएका २२ लाख ६७ हजार ४१९ वटा मोबाइल सेटको कुल औषत बजार मूल्य ६८ अर्ब रुपैयाँ नाघेको छ ।
भन्सार विभागको सार्वजनिक गरेको गत आवको एक वर्षको तथ्यांक अनुसार साढे २२ लाख मोबाइल आयात हुँदाको भन्सार मूल्य ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार रुपैयाँको छ । उक्त मूल्यका मोबाइल भित्रिँदा राज्यले ९ अर्ब ८ करोड २३ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
नेपालमा पछिल्लो एक वर्षमा भित्रिएका मोबाइल सेटको औसत बजार मूल्य ३० हजार रुपैयाँ भएको तथ्यांकले देखाउँछ । यो तथ्यांकका अनुसार नेपाली स्मार्टफोन प्रयोगकर्ताले औसतमा ३० हजार रुपैयाँको मोबाइल प्रयोग गर्छन् भन्ने हो । त्यसो त १० हजारमा पाइने स्मार्टफोनदेखि साढे २ लाख पर्ने आइफोनसम्म नेपालीले प्रयोग गरिरहेका छन् । नेपाल भित्रिएका महंगा सस्ता सबै सेटको औषत मूल्य भने ३० हजार रुपैयाँ हुने देखिन्छ ।
हाल बजारमा बिक्री हुने सबैभन्दा बढी मोबाइल सेटमा २५ देखि ३५ हजार रुपैयाँकै सेटको बाहुल्यता रहेको मोबाइल व्यवसायीको भनाइ छ ।
नेपाल भित्रिएका मोबाइलको आयात मूल्यमा भ्याट र अन्तशुल्क लाग्ने र त्यसपछि मात्रै बजारको मूल्य तय हुन्छ । व्यवसायीका अनुसार नेपालमा आयात भएका मोबाइलमा भन्सार मूल्य आयातकर्ता, होलसेल, खुद्रा हुँदै उपभोक्ताको हातमा पुगुदान थप ४० प्रतिशत शुल्क जोडिन पुग्छ ।

सरकारले मोबाइल आयात गर्दा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशतका दरले अन्तःशुल्क लिन्छ । व्यवसायीले मूल्य अभिवृद्धि करमा तिर्नुपर्ने शून्य दशमलव ६५ प्रतिशत भ्याटका कारण एकमुष्ट रूपमा मोबाइल आयात गरेबापत सरकारलाई १८.६५ प्रतिशत राजस्व तिर्दै आएका छन् ।
नेपाल भित्रिएका मोबाइलमा आयातकर्ता र बिक्रेताले राख्ने ५.५ प्रतिशतको मार्जिन, होलसेल हुँदै रिटेलसम्म पुग्दा थपिँदै जाने मार्जिन जोडिने गरेको छ ।
व्यवसायीले बिक्री गरेर आम उपभोक्ताले खरिद गर्दासम्म आयात मूल्यमा थप ४० प्रतिशतसम्म मूल्य जोडिने गरेको मोबाइल आयातकर्ता संघको भनाइ छ । बजारमा थपिने मूल्य ४८ अर्बको मोबाइल आयात हुँदा १९ अर्ब ४७ करोड रुपैयाँ थप शुल्क जोडिने भएकोले ६८ अर्ब रुपैयाँ नाघेको हो ।
त्यसो त नेपालमा भित्रिएको मोबाइल सेट संख्याका हिसावले कोरोना महामारीपछिको आव २०७८/७९ मा सबैभन्दा धेरै (एकै वर्ष ५५ लाख ८६ हजार वटा) आएको भएपनि त्यतिबेला ३८ अर्ब भन्सार मूल्यको मात्रै मोबाइल आएको थियो । त्यतिबेला स्मार्टफोन मात्रै नभएर सामान्य फिचरका बारफोनको संख्या बढी हुने गरेको थियो ।
पछिल्लो समय सामान्य फिचरका फोनको सट्टा पनि स्मार्टफोन नै आउने गरेका छन् । जसका कारण मोबाइलको संख्या विगतको भन्दा कम देखिएको भए पनि मूल्यका कारण बजार हुने खपत धेरै देखिएको हो ।
अहिले भित्रिएको मोबाइलको संख्याका आधारमा आयात कम भए पनि आयात मूल्य भने हालसम्मकै उच्च हुन पुगेको छ । यसले नेपाली बजारमा पछिल्लो समय सस्तो सेटभन्दा महँगा र प्रिमियम स्मार्टफोनको माग बढेको पनि यो तथ्यांकले देखाउँछ ।
स्मार्टफोनको आयात बढ्नुलाई डिजिटल नेपालको यात्रामा सकारात्मक मानिए पनि ठूलो मात्रामा वैदेशिक मुद्रा बाहिरिनु अर्थतन्त्रका लागि चुनौती बनेको छ । विशेषगरी कोभिड-१९ को समय (२०७७/७८) पछि नेपालमा स्मार्टफोनको प्रयोग ह्वात्तै बढेको थियो । जसको प्रभाव अहिले पनि कायमै देखिन्छ।
विज्ञहरूका अनुसार इन्टरनेटको पहुँचमा वृद्धि, अनलाइन शिक्षा, डिजिटल बैंकिङ र सामाजिक सञ्जालको बढ्दो क्रेजका कारण स्मार्टफोन अब विलासिताको वस्तु नभई अत्यावश्यक साधन बन्दै जानुले पनि यसको प्रयोग बढेको हो । नेपालमै मोबाइल एसेम्बलिङ प्लान्टहरूलाई प्रोत्साहन दिन सके यो ठूलो व्यापार घाटा कम गर्न सकिने सरोकारवालाहरूको भनाइ छ।





प्रतिक्रिया