हिमालयन बुलियनले ९ महिनामै बेच्यो पौने १० अर्ब रुपैयाँको चाँदी, वित्तीय स्थिति निकै सबल

182
Shares

काठमाडौं । हिमालयन बुलियन कम्पनीले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा पौने १० अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ९ अर्ब ७८ करोड ९० लाख रुपैयाँको चाँदीको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२५ मा ३० करोड २० लाख रुपैयाँ र सन् २०२४ मा ४७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीका अनुसार गत आवमा विश्वभर चाँदीको उच्च मूल्यसँगै लगानीको रुपमा चाँदीको माग बढेकाले कारोबार बढेको छ।

कम्पनीले गत आवको ९ महिनाको अवधिमा गरेको कुल व्यापारमध्ये सञ्चालन नाफा ५.६४ प्रतिशत छ । सन् २०२५ मा सञ्चालन नाफा मार्जिन ४.२३ प्रतिशत थियो ।

यसबीचमा कम्पनीको ग्रस क्यास अक्रुअल (खुद नाफा र डिप्रिसियसनको योग)मा उच्च सुधार आएको छ । गत आवको ९ महिनाको अवधिमा कम्पनीको ग्रस क्यास अक्रुअल ५० करोड ५० लाख रुपैयाँ पुगेको छ । सन् २०२५ मा ४ करोड २० लाख रुपैयाँ मात्रै थियो ।

साथै कम्पनीको पुँजीगत संरचनामा पनि सुधार आएको छ । सन् २०२४ मा १.२२ गुणा रहेकामा समग्र गियरिङ अनुपात सुधार भइ सन् २०२५ मा ०.९५ गुणा रहेको छ ।

लगानीकर्ताले नयाँ पुँजी लगानी गर्दा कम्पनीको इक्विटी ३० करोड ७० लाख रुपैयाँ पुगेको छ । लगानीकर्ताले इक्विटी थप गरेसँगै गत आवको ९ महिनाको अवधिमा समग्र गियरिङ अनुपात अझ सुधार भई ०.४८ गुणामा झरेको छ । अर्थात् अहिले कम्पनीको कुल कर्जा स्वपुँजीको आधाभन्दा कम छ ।

कम्पनीको ब्याज कवरेज अनुपात (सञ्चालन नाफा र कर्जाको ब्याजबीचको अनुपात) सन् २०२५ मा १.१० गुणा थियो । सन् २०२४ मा १.२० गुणा थियो । तर, गत आवको ६ महिनाको अवधिमा सञ्चालन नाफामा उल्लेख्य वृद्धि हुँदा कर्जाको वार्षिक ब्याजभन्दा सञ्चालन नाफा ६०.६९ गुणा बढी छ ।

यसैगरी ऋण र ग्रस क्यास एक्रुअलको अनुपात सन् २०२४ मा ४५.८८ गुणा रहेकोमा गत आवको ९ महिनामा सुधारिएर ०.५५ गुणा मा झरेको छ, जुन निकै सकारात्मक पक्ष हो । यसैगरी कम्पनीले ग्राहकबाट इन्भेन्टरीको २५% बराबरको अग्रिम रकम लिने गरेको छ, जसले चासू पुँजी व्यवस्थापनमा सहयोग पुगेको छ ।

यी विवरणले हिमालयन बुलियन निकै सबल वित्तीय स्थितिमा रहेको बुझाउँछ ।

सन् २००० मा स्थापना भएको कम्पनीले चाँदीको बुलियन कारोबार गर्दै आएको छ । कम्पनीले विशेषगरी ग्रान्यूल्स खरिद गरी बुलियन र सिक्काको आकार बनाई चाँदीको कारोबार गर्दै आएको छ । कम्पनीले शुद्ध चाँदीको कारोबार गर्दै आएको हो ।

कम्पनीले उत्पादन गरेको चाँदीका बुलियनहरु प्रमाणिकताको प्रमाणपत्रसहित उपलब्ध हुने भएकाले चाँदीको ९९.९९ प्रतिशत शुद्धता र गुणस्तरमा विश्वास हुन सक्ने व्यवस्था गरेको छ । कम्पनीले दुबई र हङकङबाट आयात गर्दै आएको छ ।

केयर रेटिङ्स नेपालले हिमालयन बुलियनलाई डबल बीप्लस इस्युअर रेटिङ दिएको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष भीष्म गौतम हुन् भने सुमन गौतम निर्देशक हुन् । भीष्म गौतमसँग चाँदी व्यवसायमा दुई दशकभन्दा बढीको अनुभव छ भने सुमन लगानी व्यवस्थापनका जानकार हुन् ।

हिमालयन बुलियन कम्पनी नेपालको चाँदीको बुलियन बजारमा एकमात्र संगठित सहभागी हो ।