पशुपति खाद्य तेल उद्योगले ९ महिनामा गर्‍यो सवा १० अर्बको व्यापार, ८५ प्रतिशत निर्यातको हिस्सा

189
Shares

काठमाडौं । पशुपति खाद्य तेल उद्योगले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब सवा १० अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा १० अर्ब १८ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२५ मा १० अर्ब ३० करोड रुपैयाँ, सन् २०२४ मा २ अर्ब ७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब ६६ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ७ अर्ब ७८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार सन् २०२५ मा उच्च बढेको छ । सोही व्यापार निरन्तर भई गत आवमा उच्च व्यापार भएको कम्पनीले जनाएको छ ।

गत आवमा कम्पनीको भारतमा निर्यात बढ्दा कारोबार बढेको उल्लेख छ । जसमा कम्पनीले गरेको व्यापार गरेकोमध्ये ८५ प्रतिशत निर्यातको हिस्सा छ ।

निर्यात बढ्दा कम्पनीको पुँजी संरचना मध्यम स्तरको रहेको छ । कम्पनीको गियरिङ अनुपात २.० गुणा रहेको छ । त्यस्तै, कम्पनीको गत आवको ९ महिनामा कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेट वर्थ २.९ गुणा रहेको छ । कम्पनीले तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अर्जेन्टिना, युक्रेन, रुस र ब्राजिलबाट आयात गर्दै आएको छ ।

सन् १९८२ मा स्थापना भएको कम्पनील विभिन्न प्रकारका कच्चा तेल तथा वनस्पति घ्यू प्रशोधन गर्दै आएको छ । कम्पनीले भटमास, सनफ्‌लावर, पामोलिन र वनस्पति घ्यू प्रशोधन गरी पोस्टम्यान, हनुमान, हेल्लो र पशुपति ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

सुनसरीको दुहवी प्रशोधन उद्योग रहेको कम्पनीमा नन्दकिशोर राठी सबैभन्दा ठूला लगानीकर्ता हुन् । उनको १३ प्रतिशत स्वामित्व छन् । बाँकी स्वामित्व अन्य १९ जना सदस्यका छन् । १९ जना सदस्य सारदा, राठी र वैद परिवारका छन् ।

श्रीनिवास शारदा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब रुपैयाँको रेटिङ गराएको हो ।