
काठमाडौं । एनआईसी एशिया, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु र प्राइम कमर्सियल बैंकले यसपटक कर्मचारीलाई अग्रिम बोनस नदिने भएका छन् ।
आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाले कमाएको मुनाफाबाट कर्मचारीलाई बोनस बाँड्न छुट्याउनुपर्ने रकमबाट केही हिस्सा साउनको पहिलो साता नै अग्रिम बोनसका रुपमा वितरण गर्दै आएका थिए ।
तर, गत आर्थिक वर्षको मुनाफाबाट यसवर्ष भने एनआईसी एशिया र प्रभुसहितका ५ वाणिज्य बैंकले भने साउनमा कर्मचारीलाई अग्रिम बोनस नदिने भएका हुन् ।
बोनस ऐनले नै नाफा कमाउने हरेक प्रतिष्ठानले नाफाबाट कर्मचारीलाई बोनस वितरण गर्नुपर्ने व्यवस्था गरेको छ । ‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको दश प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको दफा ५ मा भनिएको छ ।
सोही व्यवस्थाका आधारमा बैंकहरुले पनि कर्मचारीले पाउने बोनसको केही हिस्सा आर्थिक वर्ष समाप्त भएसँगै र केही हिस्सा भने वार्षिक साधारणसभा गर्ने समयमा पठाउने गरेका छन् ।
हिमालयन, प्रभु, एनआईसी एशिया, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निष्क्रिय कर्जा बढेर कर्जा नोक्सानी व्यवस्था उच्च गर्नुपर्ने अवस्था र सञ्चित नोक्सानीमा समेत भएकोले कर्मचारीलाई बोनस छुट्याउन बाह्य लेखापरिक्षण र राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृति गरेपछि मात्रै क्षमता अनुसार वितरण गर्ने भएका हुन् ।
प्राइम कमर्सियल बैंक भने वितगदेखि नै कर्मचारीलाई धेरै बोनस दिने बैंकको रुपमा रहँदै आएको छ । यसपटक बैंकले कर्मचारीलाई धेरै बोन दिनसक्ने मध्येको बैंक भए पनि हालसम्म अग्रिम बोनस नदिएको कर्मचारीहरु बताउँछन् ।





प्रतिक्रिया