
एजेन्सी । उपग्रहबाट प्राप्त तस्बिरहरूका अनुसार, इजरायली सेनाले गोप्य रूपमा तर तीव्र गतिमा गाजापट्टीको आफूले नियन्त्रण गरेको ५० प्रतिशतभन्दा बढी क्षेत्रलाई बाँकी भूभागबाट अलग गर्ने गरी एउटा विशाल माटोको पर्खाल निर्माण गरिरहेको छ । यस कार्यले यो सानो प्यालेस्टिनी क्षेत्रको विभाजनलाई थप मजबुत बनाउँदै लगेको छ ।
सेनाद्वारा ध्वस्त पारिएका प्यालेस्टिनी समुदायहरू हुँदै हालैका महिनाहरूमा २३ किलोमिटरभन्दा बढी लामो पर्खाल निर्माण गरिएको छ । यो करिब ४० किलोमिटर लामो र ११ किलोमिटर चौडा रहेको तटीय क्षेत्रको कुल लम्बाइको आधाभन्दा बढी हो । त्यहाँ २० लाखभन्दा बढी प्यालेस्टिनीहरूको बसोबास छ ।
उपग्रहका तस्बिरहरू देखाइएपछि इजरायली सेनाले एसोसिएटेड प्रेसलाई आफूले येल्लो लाइन भनिने क्षेत्रमा भौतिक अवरोध निर्माण गरेको पुष्टि गरेको छ । यो रेखासम्म गत अक्टोबरमा हमाससँग भएको युद्धविराम सम्झौता अनुसार इजरायली सैनिकहरू फिर्ता भएका थिए ।
अमेरिका समर्थित उक्त सम्झौतामा यस रेखालाई इजरायली सेनाको पूर्ण फिर्ती नभएसम्मका लागि अस्थायी विभाजनका रूपमा परिकल्पना गरिएको थियो ।
तर, युद्धविराममा गतिरोध उत्पन्न भएसँगै इजरायलले आफ्नो पकड बलियो बनाउन खोजेको देखिन्छ । त्यसले उक्त रेखा अब स्थायी सीमामा परिणत हुने हो कि भन्ने प्यालेस्टिनीहरूको त्रासलाई झन् बढाएको छ ।
युद्धविरामको अनुगमन गर्ने जिम्मेवारी पाएको अमेरिकी सेन्ट्रल कमान्ड वा पछि गाजाको रेखदेख गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नेतृत्वमा गठित बोर्ड अफ पीस कसैले पनि यस पर्खालका बारेमा टिप्पणी गर्न चाहेनन् ।
पर्खालका साथै सेनाले एपीलाई बताएअनुसार, उक्त रेखाको वरिपरि एउटा सुरक्षा क्षेत्र विकास गरिएको छ जुन विभिन्न गुप्तचरी र प्राविधिक सुविधाहरूले सुसज्जित छ । पर्खाललाई कति टाढासम्म विस्तार गरिनेछ भन्ने प्रश्नमा सेनाले त्यसको मार्गको विवरण दिन अस्वीकार गर्यो ।
सेनाले यो पर्खालको उद्देश्य घुसपैठ रोक्नु र गाजापट्टी नजिकका इजरायली सेना तथा समुदायहरूको रक्षा गर्नु रहेको बताएको छ ।
युद्धविराम सम्झौता लागू भएदेखि नै गाजाका प्यालेस्टिनीहरूले इजरायलले आफ्नो नियन्त्रणमा रहेको क्षेत्र फिर्ता नगर्ने डर मानिरहेका थिए । तर, उनीहरूमध्ये धेरैलाई आफ्नो वरिपरि बनिरहेको यो माटोको पर्खालका बारेमा कमै जानकारी छ किनभने त्यो क्षेत्रको नजिक जानु नै ज्यानको जोखिम मोल्नु हो ।
प्लानेट ल्याब्स पीबीसीद्वारा उपलब्ध गराइएको उपग्रह तस्बिरहरूका अनुसार, दक्षिणी गाजामा पर्खालको एक हिस्सा यसै महिनाको दुई हप्ताभित्र मात्रै २ किलोमिटरभन्दा बढी विस्तार गरिएको छ । जुलाई १ मा करिब ५०० मिटर लामो रहेको यो पर्खाल जुलाई १५ सम्ममा २.४ किलोमिटर पुगेको थियो जसले इजरायलको नियन्त्रणमा रहेको रफाह शहरका भग्नावशेषहरूलाई प्यालेस्टिनीहरूका ठूला टेन्ट क्याम्पहरू रहेको मुवासी क्षेत्रबाट अलग गरेको छ ।
निर्माण कार्य यसै दिशामा अघि बढ्यो भने यो पर्खालको सबैभन्दा लामो खण्डसँग जोडिनेछ जुन दक्षिणी शहर खान युनिसदेखि उत्तरको गाजा शहर नजिकसम्म करिब १७ किलोमिटर लामो छ । उक्त खण्डमा निर्माण कार्य फेब्रुअरीमा सुरु भएको थियो र उपग्रह तस्बिरका अनुसार, यसलाई थप दक्षिणतर्फ विस्तार गर्ने काम जारी छ ।
जुन २१ देखि जुलाई ७ को बीचमा १ किलोमिटरभन्दा बढी पर्खाल थपिएको छ जुन खान युनिस नजिकै बानी सुहैला शहरको भग्नावशेषमा बनाइएको इजरायली सैन्य आधार नजिकै पर्छ ।
गाजाको सुदूर उत्तरमा पनि पूर्ण रूपमा ध्वस्त भएको बेइत लाहिया शहरको बाहिरी भागमा माटोको पर्खालका कतिपय खण्डहरू निर्माण गरिएका छन् । प्रत्येक ठाउँमा यी पर्खालहरूको उचाइ कति छ भन्ने अझै स्पष्ट छैन । कतिपय स्थानहरूमा यी अवरोधहरू तोकिएको येल्लो लाइनभन्दा बाहिर पनि बनाइएको देखिन्छ ।
गाजाको आधा जनसंख्या येल्लो लाइनको पश्चिमतर्फको तटीय क्षेत्रमा कोचिएको छ जहाँ अधिकांश मानिसहरू फोहोर टेन्ट क्याम्पहरूमा बस्छन् र मानवीय सहायतामा निर्भर छन् । रेखाको अर्कोतर्फ भने उपग्रह तस्बिरहरूले देखाएअनुसार, इजरायली सेनाले बुलडोजर र विस्फोटक पदार्थ प्रयोग गरेर धेरैजसो भवनहरू ध्वस्त पारेको छ । उनीहरूले कैयौं शहरहरू र कुनै समय साढे दुई लाखभन्दा बढी मानिसको घर रहेको रफाह शहरलाई लगभग नामेट पारेका छन् ।
सेनाले प्यालेस्टिनी शहरका भग्नावशेषहरूमा नयाँ सडक सञ्जाल र नयाँ सैन्य आधारहरू खडा गरेको छ । खेतीयोग्य जमिन पनि नष्ट गरिएको छ । इजरायली सेनाले हमासले प्रयोग गर्ने पूर्वाधारहरूलाई ध्वस्त पारिरहेको बताएको छ ।
येल्लो लाइनलाई युद्धविराम सम्झौता वा इजरायली र अमेरिकी अधिकारीहरूले कहिल्यै पनि स्पष्ट रूपमा परिभाषित गरेनन् र जमिनमा पनि यसको चिह्न एकनासको छैन । सेनाले एपीलाई बताएअनुसार, उनीहरूले द्वन्द्व घटाउन र असम्बन्धित व्यक्तिहरूलाई हुने क्षति रोक्न यो रेखाको मार्ग स्पष्ट रूपमा चिह्न लगाउने काम गरिरहेका छन् ।
इजरायली सेनाले उक्त रेखाको नजिक पुग्ने वा पार गर्ने प्यालेस्टिनीहरूलाई गोली हान्ने गरेको छ । सेनाले आफ्ना सैनिकहरूलाई खतरा पुर्याउन सक्ने लडाकुहरूलाई मात्र लक्षित गरेको दाबी गरे पनि मारिनेहरूमा रेखाका बारेमा अनभिज्ञ बालबालिका र अन्य सर्वसाधारण पनि समावेश छन् ।
कतिपय सैनिकहरूले आफूले कसलाई गोली हानिरहेको छु भन्ने सधैं थाहा नहुने र रेखा पार गर्ने जो कोहीलाई मार्ने आदेश रहेको समेत बताएका छन् ।
युद्धविराम सुरु भएदेखि इजरायली सेनाले गाजा वरपर हवाई र ड्रोन आक्रमणमा ११ सयभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । सोही अवधिमा लडाकुहरूको आक्रमणमा पाँच इजरायली सैनिक मारिएका छन् । मंगलबार बिहानै गाजा शहरमा भएको इजरायली आक्रमणमा फिरास अल–मसरी, उनकी श्रीमती र ६ देखि १३ वर्षका चार सन्तान मारिएको शिफा अस्पतालले जनाएको छ । इजरायली सेनाले भने त्यस समयमा उक्त क्षेत्रमा हमास लडाकुहरूलाई लक्षित गरी आक्रमण गरिएको मात्र बताएको छ ।
नजिकै बस्ने फिरासका भाइ अहमद अल–मसरीले विस्फोटको समयमा बच्चाहरूको आवाज सुनेको बताए । उनले भने, ‘उनीहरूले मलाई काका ! काका ! भनेर बोलाइरहेका थिए तर आगो भीषण थियो र हामीले केही गर्न सकेनौं ।’
युद्धविराम सम्झौता अनुसार इजरायलले अन्ततः आफ्ना सैनिकहरूलाई गाजाको अन्तिम सिमानासम्म फिर्ता लैजानुपर्ने र उनीहरूको सट्टा अन्तर्राष्ट्रिय सुरक्षा बल राखिनुपर्ने प्रावधान छ । तर, यो सम्झौताको कार्यान्वयन महिनौंदेखि रोकिएको छ ।
युद्धविरामको समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका एक पूर्व कूटनीतिज्ञले हमास निःशस्त्रीकरण हुन नसकेको भन्दै यसको दोष हमासलाई दिएका छन् । हमासका हतियारहरू बिसाउने सूत्र खोज्न गरिएका छिटपुट वार्ताहरूमा खासै प्रगति हुन सकेको देखिँदैन र हमासले पनि इजरायललाई युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएको छ ।
यो युद्ध ७ अक्टोबर २०२३ मा हमासको नेतृत्वमा लडाकुहरूले इजरायली समुदायमाथि आक्रमण गरी करिब १२ सय मानिसको हत्या गरेपछि र २५१ जनालाई बन्धक बनाएपछि सुरु भएको थियो । इजरायलले त्यसको जवाफमा कडा सैन्य कारबाही सुरु गर्यो जसमा गाजा स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७३ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
हालै भंग भएको हमास सरकारको हिस्सा रहेको उक्त मन्त्रालयले राख्ने विवरणहरूलाई संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले सामान्यतया भरपर्दो मान्छन् । मन्त्रालयले मृतकहरूमध्ये आधा संख्या महिला र बालबालिकाको रहेको जनाएको छ ।





प्रतिक्रिया