सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ८९ करोड नाफा, १३ प्रतिशत लाभांश दिन सक्ने

49
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले उल्लेख्य सुधार सहित आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो वर्ष २०८१/८२ को तुलनामा करिब ४७ प्रतिशतले बढेको छ ।

बैंकले गत आवको असार मसान्तसम्ममा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आव २०८१/८२ मा बैंकले ६० करोड ६६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ४६.६९ प्रतिशतले बढेको हो ।

बैंकको मुख्य व्यवसाय (ब्याज आम्दानी) बाट हुने खुद ब्याज आम्दानी १६.८३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड पुगेको छ । अघिक तरलता र लगातार घट्दो ब्याजदर तथा उच्च प्रतिस्पर्धाको बीच पनि बैंकले स्प्रेड रेट व्यवस्थापन गरी खुद ब्याज आम्दानीलाई सन्तुलित राख्न सफल भएको देखिन्छ ।

यस्तै फि तथा कमिसन आम्दानी २१ करोड ४७ लाख रुपैयाँबाट बढेर २५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अन्य सञ्चालन आम्दानीमा पनि वृद्धि भएको छ । अन्य सञ्चालन आम्दानी १७ करोड ५० लाख रुपैयाँबाट बढेर २७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । जसले समग्र नाफा बढाउन मद्दत पुर्‍याएको छ ।

बैंकले गत आवमा कुल ९ करोड १४ लाख रूपैयाँ प्रोभिजन थप गरेको छ । बैंकले अघिल्लो आवमा ३४ करोड ५५ लाख रूपैयाँ नोक्सानी व्यवस्थाका लागि थप गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको तुलनामा उल्लेख्य बढेको छ । अघिल्लो वर्ष ८८ करोड ४४ लाख रहेको सञ्चालन मुनाफा गत आवमा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको हो ।

बैंकको नाफासँगै अन्य मुख्य वित्तीय सूचकहरूमा पनि सकारात्मक छन् । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १७.०६ रुपैयाँबाट बढेर २३.८३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १०.७८ प्रतिशत रहेको रिटर्न अन इक्विटीमा सुधार भएर १४.५२ प्रतिशत पुगेको छ । यस्तै मूल्य आम्दानी अनुपात १६.५९ गुणा छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात १४.६३ प्रतिशत छ । यस्तै प्राथमिक पुँजीकोष अनुपात पनि ११.५९ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सामान्य वृद्धि गरेको छ। बैंकको निक्षेप ४.१२ प्रतिशतले बढेर ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ र कर्जा प्रवाह ७.१२ प्रतिशतले बढेर ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा अघिल्लो वर्षको ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ । ३ अर्ब ७३ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको गत आर्थिक वर्षको मुनाफाबाट १३.१९ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता देखिएको छ ।