एआई प्रतिलिपि अधिकार मुद्दामा एन्थ्रोपिक र लेखकहरूबीच १.५ अर्ब डलरको ऐतिहासिक सम्झौता

28
Shares

एजेन्सी । सान फ्रान्सिस्कोस्थित अमेरिकी जिल्ला न्यायाधीश अरासेली मार्टिनेज–ओल्गुइनले शुक्रबार एन्थ्रोपिक र लेखकहरूको एक समूहबीचको १.५ अर्ब डलरको ऐतिहासिक सम्झौतालाई अनुमोदन गरेका छन् ।

रोयटर्सको रिपोर्ट अनुसार, यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो प्रतिलिपि अधिकार सम्बन्धी सम्झौता हुन सक्छ ।

क्लड नामक एआई च्याटबोटको निर्माता एन्थ्रोपिकमाथि लेखकहरूले उनीहरूको अनुमति बिना पुस्तकहरू प्रयोग गरेर एआई मोडललाई तालिम दिएको आरोप लगाएका थिए । यो सम्झौतालाई सुरुमा गत वर्ष सेप्टेम्बरमा अहिले अवकाशप्राप्त न्यायाधीश विलियम अलसपले प्रारम्भिक रूपमा अनुमोदन गरेका थिए ।

पछिल्लो समय धेरै लोकप्रिय एआई च्याटबोट निर्माताहरू विरुद्ध लेखक र समाचार संस्थाहरूले प्रतिलिपि अधिकार भएका सामग्रीहरू अनुमति बिना प्रयोग गरेको भन्दै मुद्दा दायर गरेका छन् ।

अमेरिकामा सम्झौतामा पुग्ने यो पहिलो ठूलो एआई प्रतिलिपि अधिकार मुद्दा हो । एन्थ्रोपिककी उप–प्रमुख कानुनी सल्लाहकार अपर्णा श्रीधरले एक विज्ञप्ति जारी गर्दै सन् २०२५ मा अदालतले एआई तालिमलाई फेयर युज अन्तर्गत राखेपछि यो सम्झौता गरिएको हो र ९१ प्रतिशतभन्दा बढी लेखक तथा प्रकाशकहरूले भुक्तानीमा दाबी गरिसकेका छन् ।

लेखकहरूको तर्फबाट मुख्य अधिवक्ता जस्टिन नेल्सनले यसलाई इतिहासकै सबैभन्दा ठूलो प्रतिलिपि अधिकार असुली भन्दै ऐतिहासिक सम्झौताको संज्ञा दिएका छन् ।

सन् २०२४ मा दायर गरिएको यस मुद्दामा लेखकहरूले एन्थ्रोपिकले उनीहरूका पुस्तकका पाइरेटेड प्रतिलिपिहरू प्रयोग गरेको आरोप लगाएका थिए । उनीहरूको दाबी अनुसार, एन्थ्रोपिकले ७० लाखभन्दा बढी पाइरेटेड पुस्तकहरूको एउटा भण्डार राखेको थियो जसमध्ये धेरैजसो एआई तालिममा प्रयोग नभए पनि कम्पनीले आफ्नो डेटाबेसमा सुरक्षित राखेको थियो ।

गत वर्षको एक महत्त्वपूर्ण फैसलामा न्यायाधीश विलियम अलसपले एआई तालिमका लागि पुस्तकहरूको प्रयोगलाई फेयर युज माने पनि लाखौं पाइरेटेड पुस्तकहरू आफ्नो केन्द्रीय पुस्तकालयमा राखेकोमा भने एन्थ्रोपिक जिम्मेवार हुन सक्ने ठहर गरेका थिए ।

यस मुद्दाको सुनुवाइ आगामी डिसेम्बरमा सुरु हुने तय भएको थियो जहाँ एन्थ्रोपिकले सयौं अर्ब डलरको क्षतिपूर्ति तिर्नुपर्ने जोखिम थियो । सोही जोखिमबाट बच्न दुवै पक्ष सम्झौतामा सहमत भएका हुन् ।

यद्यपि, केही लेखक र प्रकाशकहरूले यो सम्झौताको रकम निकै कम भएको र वकिलहरूले धेरै शुल्क लिएको भन्दै विरोध गरेका थिए । न्यायाधीश मार्टिनेज–ओल्गुइनले ती आपत्तिहरूलाई खारेज गर्दै सम्झौताको आकार उचित रहेको बताए र वकिलहरूलाई १० करोड डलरभन्दा बढी शुल्क प्रदान गरे ।

केही लेखक र प्रकाशकहरूले भने यो सम्झौतामा सहभागी नहुने निर्णय गर्दै कम्पनी विरुद्ध छुट्टै कानुनी लडाइँ जारी राख्ने बताएका छन् ।