एएसएमएलद्वारा कर्मचारीहरूलाई २० हजार डलरको रिटेन्सन बोनस घोषणा, सन् २०३० सम्म टिकिरहनुपर्ने

112
Shares

एजेन्सी । युरोपको सबैभन्दा ठूलो प्रविधि कम्पनी एएसएमएलले आफ्ना कर्मचारीहरूलाई सन् २०२७ देखि कम्तीमा २०३० सम्म कम्पनीमै टिकिरहेमा २० हजार डलरको रिटेन्सन बोनस दिने तयारी गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

सिकिङ अल्फाको रिपोर्ट अनुसार, यो बोनस १ जनवरी २०२७ मा प्रदान गरिनेछ र १ जनवरी २०३० मा पूर्ण रूपमा परिपक्व हुनेछ । च्यालेन्जर, ग्रे एन्ड क्रिसमसका अनुसार, अमेरिकामा रहेका कम्पनीहरूले सन् २०२६ मा हालसम्म कुल १ लाख ३९ हजार १५६ कर्मचारी कटौती गरिरहेका बेला यो घोषणा आएको हो ।

कम्पनीका एक प्रवक्ताले सो प्रकाशनलाई योजनाको पुष्टि गर्दै भने, ‘एएसएमएल निरन्तर वृद्धि र विकासको चरणमा छ जुन हाम्रो पछिल्लो त्रैमासिक नतिजामा पनि झल्किन्छ ।’ उनले थपे, ‘वर्षको पहिलो ६ महिनामा हामीले धेरै महत्त्वपूर्ण कदमहरू चाल्यौं जसमा सन् २०२७ र २०२८ मा हाम्रो क्षमतालाई थप विस्तार गर्ने योजनाहरू घोषणा गर्नु र सन् २०२६ को लागि हाम्रो दृष्टिकोण बढाउनु समावेश छ । साथै, हामी लिथोग्राफी, थ्रीडी चिप आर्किटेक्चरको समर्थन, हाम्रा प्रणाली र सफ्टवेयरमा एआईको प्रयोग र टेक्नोलोजी ट्रान्सफर्मेसन तथा आईटी एन्ड डेटा ट्रान्सफर्मेसन जस्ता विभिन्न रूपान्तरण कार्यक्रमहरू लगायतका क्षेत्रमा निरन्तर लगानी गरिरहेका छौं । यी विकासक्रमहरूलाई ध्यानमा राख्दै र हालसम्म एएसएमलको सफलतामा कर्मचारीहरूले खेलेको र भविष्यमा खेल्ने महत्त्वपूर्ण भूमिकाको कदर गर्दै व्यवस्थापन बोर्डले विश्वभरका सबै योग्य कर्मचारीहरूलाई २० हजार युरो मूल्य बराबरको एकपटकका लागि सशर्त सेयर अवार्ड दिने निर्णय गरेको छ ।’

रिपोर्टमा उल्लेख गरिए अनुसार, प्रवक्ताले यी सेयरहरू १ जनवरी २०२७ मा प्रदान गरिने र १ जनवरी २०३० मा परिपक्व हुने खुलासा गरे । स्टकको रूपमा दिइने यस अनुदानको विवरण अझै अन्तिम चरणमा पुग्न बाँकी छ तर यो सबै योग्य कर्मचारीहरूलाई उपलब्ध गराइने डच कम्पनीले थप जानकारी दिएको छ ।

बोनस दिनेमा एएसएमएल मात्र एक्लो चिप निर्माता कम्पनी होइन । एआई पूर्वाधारको बढ्दो मागबाट लाभ उठाएको सामसङले आफ्ना झण्डै ७५ प्रतिशत कर्मचारीहरूलाई करिब ३ लाख ७० हजार डलरको बोनस प्रस्ताव गरेको थियो । यसको प्रतिस्पर्धी कम्पनी एसके हाइनिक्सले यस वर्ष आफ्ना कर्मचारीहरूलाई करिब ४ लाख ७७ हजार डलर बोनस दिएको थियो र अर्को वर्ष झण्डै ९ लाख डलर दिने रिपोर्ट गरिएको छ ।

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीका सीईओ सी.सी. वेईले यसै वर्षको मे महिनामा कम्पनीको कर्मचारी नाफा बाँडफाँटको भुक्तानी यस वर्ष औसतमा ३० प्रतिशतभन्दा बढीले बढ्ने घोषणा गरेका थिए ।