दुर्गा प्रसाईंको मेडिकल कलेजले चुक्ता गर्‍यो बैंकहरूको २०८३ असारसम्मको किस्ता, बैंकर मख्ख !

कहिले कति तिरे ?


काठमाडौं । अरूलाई ऋण नतिर्न उक्साउने व्यवसायी दुर्गा प्रसाईं आफैँले भने नियमित रूपमा बैंकहरूको साँवा-ब्याज तिरेका छन् । प्रसाईंले झापाको ‘बी एण्ड सी’ मेडिकल कलेजको ऋण नियमित तिरेका हुन् ।

‘बी एण्ड सी’ मेडिकल कलेजले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको ऋण भुक्तानी गरेको बैंकहरूले जनाएका छन् । बी एण्ड सीले असारको विभिन्न मितिमा गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी ऋण तिरेको हो ।

गत वर्ष राष्ट्र बैंकको नियमअनुसार कर्जाको पुनर्संरचना गरेपछि प्रसाईंले नियमित किस्ता हाल्न थालेको बैंकरहरू बताउँछन् । प्रसाईंले नियमित किस्ता तिरिरहँदा बैंकरहरू मख्ख छन् ।

‘कर्जाको पुनर्संरचना गरेपछि बी एण्ड सी मेडिकल कलेजले नियमित रूपमा किस्ता भुक्तानी गरिरहेको छ,’ ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्र रेग्मीले क्लिकमान्डुसँग भने, ‘गत असार मसान्तसम्मको करिब-करिब क्लियर भएको हुनुपर्छ ।’

विभिन्न बैंकहरूलाई प्रसाईंको बी एण्ड सी मेडिकल कलेजले ३ अर्ब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । १ अर्ब ५७ करोड सुरुमा लिएको र सम्बन्धन पाएपछि मेसिन किन्न ५५ करोड रुपैयाँ थपेर कुल २ अर्ब १२ करोड रुपैयाँ कर्जा साँवा हो ।

सुरुवाती ऋणको ब्याज पुँजीकरण गरी कर्जाको पुनर्संरचना गर्दा अहिले कुल कर्जा ३ अर्ब ९० करोड रुपैयाँ पुगेको प्रसाईंले बताए । अहिलेसम्म बी एण्ड सीले ८७ करोड रुपैयाँ ब्याज भुक्तानी गरिसकेको उनको भनाइ छ ।

‘२०८३ असारमा ७ पटक गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी बैंकलाई तिरेको छु,’ प्रसाईंले क्लिकमान्डुसँग भने, ‘असार मसान्तसम्मको बी एण्ड सीको किस्ता चुक्ता भएको छ । अहिलेसम्म मैले ८७ करोड रुपैयाँ त बैंकहरूलाई ब्याज मात्रै तिरिसकेको छु।’

प्रसाईंले ग्लोबल आईएमई बैंकमार्फत नबिल बैंकलाई असार ५ गते १ करोड ३५ लाख, १५ गते १ करोड, १८ गते ५० लाख, २२ गते ३ करोड, असार ३२ गते १ करोड २२ लाख १२ हजार २ सय ३७ र ३ करोड ३१ लाख रुपैयाँ किस्ता तिरेका हुन् । उनले भुक्तानीका लागि कनेक्ट आईपीएस पनि गरेका छन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले प्रसाईंले नियमित रूपमा किस्ताको साँवा-ब्याज तिरिरहेको जानकारी दिए।

‘उहाँ अरूभन्दा इमानदार हुनुहुन्छ र समयमै किस्ता तिरिरहनुभएको छ,’ ज्ञवालीले क्लिकमान्डुसँग भने, ‘कलेजले विद्यार्थी भर्ना लिन थालेपछि उहाँले नियमित रूपमा किस्ता तिरिरहनुभएको छ । अरूलाई किस्ता तिर्नका लागि बरु फोन गर्नुपर्छ, प्रसाईंले चाहिँ कम्तिमा एक हप्ताअघि नै किस्ता तिरिरहनुभएको छ ।’

केही दिन ढिला हुने भयो भने प्रसाईंले फोन गरेर नै ढिला हुने जानकारी दिने गरेको ज्ञवालीको भनाइ छ ।

अरूले चैतसम्मको बुझाउँदा प्रसाईंले भने असार मसान्तसम्मको किस्ता तिरेको उनले जानकारी दिए ।

प्रसाईंले नियमित किस्ता तिरेकै कारण केही समयअघि बैंकले ५५ करोड रुपैयाँ थप कर्जा दिएको उनले बताए ।

नबिल बैंकबाट बी एण्ड सी मेडिकल कलेजले ९० करोड रुपैयाँ ऋण लिएको छ ।

प्रसाईंको मेडिकल कलेजको असारसम्मको सबै ब्याज भुक्तानी भएको र क्यान्सर अस्पताल भने अदालतको आदेश अनुसार अब नियमित किस्ता भुक्तानी गर्ने प्रतिवद्वता गरेर कर्जाको पुनसंरचना गरेको कुमारी बैंकका सीईओ रामचन्द्र खनालले बताए । 

‘२०८३ असारसम्मको मेडिकल कलेज र क्यान्सर अस्पतालको सबै सेटलमेन्ट भएको छ’ खनालले क्लिकमान्डुसँग भने । मेडिकल कलेजमा ग्लोबल आईएमई र क्यान्सर अस्पतालमा कुमारी बैंकले कन्सोल्टियम लिड गरेका छन् ।

प्रसाईंले पनि आफूले कलेजको अनुमति नपाउँदा आम्दानी नभएकाले नियमित तिर्न नसके पनि विद्यार्थी भर्ना थालेपछि भने बैंकको किस्ता नियमित तिरिरहेको बताए ।

‘मेडिकल कलेजको अनुमति नपाउँदा आम्दानी नै नभएका कारण नियमित तिर्न सकेको थिइनँ, तर विद्यार्थी भर्ना थालेपछि नियमित रूपमा किस्ता तिरिरहेको छु,’ प्रसाईंले क्लिकमान्डुसँग भने, ‘मलाई धेरैले बैंकको ऋण नतिरेको आरोप लगाउँछन् तर जुन सत्य होइन।’

आफू आफ्नो स्वार्थका लागि नभएर गरिबका पक्षमा बोल्ने व्यक्ति भएको उनले बताए ।

‘मैले ऋण मिनाहाको कुरा गरिबका लागि उठाएको हुँ । मलाई एक रुपैयाँ पनि मिनाहा र छुट चाहिँदैन,’ उनले भने, ‘काम गर्ने वातावरण मात्रै भए म ऋण तिर्न सक्षम छु । बैंकमा राखेको पैसा पनि सर्वसाधारण जनताको हो, सक्नेहरूले तिर्नुपर्छ । नसक्नेलाई २० लाख रूपैयाँसम्मको मिनाहा गर्नुपर्छ भन्ने मेरो माग हो ।’

बैंकका कर्मचारीलाई कालो मोसो दल्नेजस्ता विवादास्पद गतिविधि गरेर चर्चा कमाएका प्रसाईं साँवा-ब्याज नियमित गरेर लयमा फर्किएका हुन् । उनका अभिव्यक्ति र गतिविधिले त्रसित बैंकरहरू किस्ता नियमित हुन थालेपछि तनाव कम भएको बताउँछन्।

अर्बौं लगानी भइसकेको उनको मेडिकल कलेजलाई सम्बन्धन दिन अस्वीकार गरेर राज्यले प्रसाईंलाई बिच्काएको थियो । सरकारले प्रसाईंको मेडिकल कलेजलाई सैद्धान्तिक सहमति (एलओआई) दिएर पनि सम्बन्धन (एफिलिएसन) दिएन ।

एलओआई देखाएर प्रसाईंले विभिन्न बैंकबाट अर्बौं ऋण लिएका थिए । आफूमाथि अन्याय भएको भन्दै न्याय माग्दै उनी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे । तर विडम्बना, अदालतमा उनले हालेको मुद्दाको पेसी ४७ पटक सर्‍यो । अदालत धाउँदा धाउँदै प्रसाईंको १२ वर्ष बित्यो ।

बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिइँदा प्रसाईंलाई लगानीले प्रतिफल दिन सकेको थिएन र बैंकले उनले लिएको कर्जाको किस्ता पाएको थिएन ।

अन्ततः व्यावसायिक लडाइँमा सर्वोच्च अदालतले प्रसाईंलाई जित दिलायो । सर्वोच्च अदालतले २०८० चैत १२ गते परमादेश जारी गर्दै शैक्षिक सत्र सुरु हुनुअगावै एमबीबीएसमा विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिन निर्देशन दियो । यसैगरी जेठ १४ गते काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको नाममा १५ दिनभित्र सम्बन्धन दिन आदेश जारी गरेको थियो । उक्त परमादेशपछि २०८१ जेठ २७ गते केयूले बीएन्डसीलाई सम्बन्धन दियो । यस्तै असार ४ गते चिकित्सा शिक्षा आयोगले पनि सम्बन्धन दियो ।

बीएन्डसीले २०६८ सालमा शिक्षा मन्त्रालयबाट आशयपत्र लिई पूर्वाधार निर्माणलगायत मेडिकल कलेज सञ्चालनको पूर्वतयारीको काम गर्दै आएको थियो ।

२०७१ सालमा ९०० शय्याको मेडिकल कलेज बनाउने गरी वातावरणीय प्रभाव मूल्यांकन गरियो । सम्बन्धन पाउन बीएन्डसीले २०७६ सालमा आयोगमा निवेदन दिएको थियो । तर, त्यस समयमा आयोगले आशयपत्र २०७३ सालदेखि नवीकरण नभएको कारण देखाउँदै सम्बन्धन स्वीकृति दिन अस्वीकार गरेको थियो ।

त्यसबीचमा प्रसाईंले ३०० शय्याको क्यान्सर अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पनि पाएका थिए । बी एण्ड सीले सम्बन्धन पाएर सञ्चालनमा आएपछि दुर्गा प्रसाईंको साम्राज्य थप ओरालो लाग्नबाट रोकिएको मात्र छैन, उकालो यात्रा तय गर्न थालेको छ । विश्वसनीयता बढ्न थालेको बैंकरहरू बताउँछन् ।

२०८१ पुस २५ गतेदेखि बीएन्डसीले एमबीबीएस पहिलो ब्याचको अध्यापन सुरु गरिसकेको छ ।

प्रसाईं राजनीतिमा आएसँगै बीएन्डसीको जिम्मा छोरा निराजनलाई लगाएका थिए । बीएन्डसी निराजनले सम्हालेसँगै कम्पनीको आम्दानी बढेको छ, कम्पनी सञ्चालन नाफामा देखिएको छ । एकपल्ट गुमिसकेको रेटिङ फिर्ता भएको छ र कर्जाको सीमा पनि बढेको छ ।

झापामा ५ तारे होटल ‘एड्रियम’ निर्माण गरिरहेका प्रसाईंले क्यान्सर अस्पताल र मेडिकल कलेजसमेत सञ्चालनमा ल्याएका छन् । सबै गरेर उनले बैंक तथा वित्तीय संस्थाहरूलाई ७ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।

दुर्गा प्रसाईंको ऋण

प्रसाईंले किस्ता तिरेको प्रमाण