प्रोटोनको ‘ई.मास ५’ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

504
Shares

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई.मास ५’ सार्वजनिक गरेको छ ।

काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो गाडी प्रोटोन ब्रान्डको नेपालमा दोस्रो विद्युतीय सवारी साधन हो ।

अत्याधुनिक प्रविधि र बौद्धिक डिजाइनको संगम मानिएको यो गाडीले नेपाली ग्राहकको सहरी जीवनशैली र दैनिक यात्रामा नयाँ आयाम थप्ने कम्पनीले विश्वास लिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आफ्नो बलियो पहिचान बनाइसकेको प्रोटोन ई.मास ५ ले हालै मलेसियाको प्रतिष्ठित ‘अलाइयान्ज डीएफएम भेइकल अफ द इयर अवार्ड्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर २०२४’ को उपाधि प्राप्त गरेको थियो ।

यो गाडीमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता अत्याधुनिक सुविधाहरू रहेका छन् ।

उपयोगितालाई ध्यान दिँदै यसमा अगाडि ७० लिटरको फ्रन्ट ट्रंक (फ्रंक) र पछाडि ३७५ लिटरको विस्तार गर्न मिल्ने लगेज कम्पार्टमेन्टसहित सामान राख्नका लागि ३२ वटा विभिन्न स्थानहरू (स्टोरेज कम्पार्टमेन्ट्स) उपलब्ध गराइएको छ ।

सार्वजनिकीकरण समारोहमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोनसँगको साझेदारीलाई निरन्तरता दिँदै दिगो गतिशीलताका लागि यो गाडी बजारमा ल्याउन पाउँदा उत्साहित भएको बताए ।

त्यस्तै, प्रोटोन इन्टरनेसनलका डेपुटी डाइरेक्टर लि खिदानले विश्वभर ६ लाख १० हजारभन्दा बढी ग्राहकले रुचाएको प्लेटफर्ममा आधारित यो गाडीले नेपालमा पनि विश्वास जित्ने दाबी गरे । उनका अनुसार प्रोटोनको अन्तर्राष्ट्रिय विकास रणनीतिमा नेपाल एक महत्त्वपूर्ण बजारको रूपमा रहेको छ ।

प्रोटोन ई.मास ५ नेपाली बजारमा ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले विशेष सुरुवाती मूल्य अन्तर्गत प्राइम भेरियन्टको लागि २९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको लागि ३४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

यो विशेष मूल्य पहिलो १०० ग्राहकका लागि र सीमित अवधिको लागि मात्र लागू हुनेछ । इच्छुक ग्राहकहरूले देशभरका प्रोटोन ई.मास शोरुममा गई यसको प्रत्यक्ष अनुभव लिन र बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।