
विराटनगर । कार्गो रेलमार्फत कोलकाताबाट विराटनगरको भन्सार यार्डसम्म भारतसहित तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान ढुवानी गर्न पाउने सुविधा थपिएसँगै सुनसरी मोरङ औद्योगिक क्षेत्रमा उत्साह बढेको छ ।
कार्गो रेलमार्फत औद्योगिक कच्चा पदार्थ ढुवानी गर्दा ट्रक र कन्टेनरको तुलनामा झण्डै ३५ देखि ४० प्रतिशतसम्म ढुवानी लागत घट्ने र उद्योगको उत्पादन लागत पनि घटेर उपभोक्तालाई राहत पुग्ने यहाँका उद्योगीको बुझाइ छ ।
यो कार्गो रेलसेवा २०८० जेठ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा संयुक्त उद्घाटन गरेका थिए ।
उद्घाटनका क्रममा फलाम उद्योगको कच्चा पदार्थ बोकेको कार्गो रेल विराटनगरको आईसीपीमा आएको थियो । तर त्यसवेला भएको नयाँ पारवहन सन्धिका कारण कार्गो रेल पुनः फर्केर आएको थिएन ।
उद्घाटनका क्रममा तत्कालीन वाणिज्य मन्त्री रमेश रिजालले भारतका समकक्षी पीयूष गोयलसितको सहमतिमा नयाँ पारवहन सन्धि गरेका थिए । त्यो सन्धिमा तेस्रो मुलुकबाट विराटनगर आईसीपीको रेलवे यार्ड (नेपाल कस्टम यार्ड अर्थात् एनसीवाई) सम्म तेस्रो मुलुकबाट सिमेन्ट, क्लिंकर, रासायनिक मल र कोइला गरी चार वस्तु मात्र ल्याउन सकिने उल्लेख गरिँदा यो रेलमार्ग प्रयोगविहीन बनेको थियो ।
सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा गत कात्तिकमा भारत भ्रमणमा गएका बेला पारवहन सन्धिको प्रोटोकलमा संशोधन गर्ने गरी लेटर अफ एक्सचेन्ज (एलओई) सार्वजनिक भएको थियो ।
विराटनगरको आईसीपीसम्म तेस्रो मुलुकबाट सबै प्रकारका रेलकार्गो ढुवानी गर्न सकिने व्यवस्था भएसँगै तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ बोकेको कार्गो रेल सोमबार विराटनगर आइपुगेको हो ।
यो कार्गो रेल गत शुक्रबार कंकर सिपिङ कम्पनीले कोलकातामा लोड गरेको थियो ।
समुद्रपारिका मुलुकबाट औद्योगिक कच्चा पदार्थ कार्गो रेलमार्फत ढुवानी गर्ने सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरूको सपना मोरङको बुढीगंगास्थित स्वस्ति आयल उद्योगका लागि अस्ट्रेलियाबाट आयात गरिएको ४० कन्टेनर अर्थात् १ हजार ७०० टन तोरी (रेपसिड दाना) सोमबार कार्गो रेलमार्फत विराटनगर भन्सार यार्डमा आएसँगै पूरा भएको छ ।
ट्रक र कन्टेनरमार्फत औद्योगिक कच्चा पदार्थ ढुवानी गर्दा कोलकाताबाट विराटनगर भन्सारसम्म प्रति किलो भारु ३ देखि ४ रुपैयाँ भाडा तिर्दै आएका उद्योगीले कार्गो रेलबाट औद्योगिक कच्चा पदार्थ ढुवानी गर्दा प्रति किलो भारु १ रुपैयाँ ९५ पैसा पर्छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले भने, ‘यो ट्रक र कन्टेनरको दाँजोमा ३५ देखि ४० प्रतिशतसम्म सस्तो हो ।’
कार्गो रेल सेवा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगको लजिस्टिक खर्चको न्यूनीकरणका लागि गेमचेन्जर पूर्वाधारका रूपमा मानिएको छ ।
‘यसलाई औद्योगिक क्षेत्रमुखी बनाउन र निरन्तरता दिन आवश्यक पूर्वाधार निर्माणसहित ह्यान्डलिङ र पार्किङ शुल्कको उचित व्यवस्था गर्न जरुरी छ,’ राठीले भने ।
हर प्रकारले कार्गो रेल सेवा सुनसरी मोरङ औद्योगिक क्षेत्रका लागि गेमचेन्जर पूर्वाधार हो तर नेपाल कस्टम यार्डमा कार्गो रेलबाट आएका औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामानको ह्यान्डलिङ र पार्किङ शुल्कमा राज्यले ध्यान दिन जरुरी भएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको भनाइ छ ।
अहिले कायम गरिएको ह्यान्डलिङ र पार्किङ शुल्क कार्गो रेल सेवाका नाममा मुनासिब नदेखिएको उनी बताउँछन् ।
नेपाल कस्टम यार्ड (एनसीवाई) मा रेलकार्गो ल्याएर मालवस्तुको ह्यान्डलिङ र ढुवानी गर्ने कार्यको शुल्क तथा दररेट नेपाल इन्टरमोडल यातायात विकास कम्पनीले निर्धारण गरेको छ ।
सरकारले यही समितिलाई आईसीपीको व्यवस्थापकीय पक्षको जिम्मा दिएको छ । इन्टरमोडलले निजी क्षेत्रको ट्रान्स नेपाल फ्रेट सर्भिसेज नामको कम्पनीलाई कार्गो व्यवस्थापनका लागि ठेक्का लगाएको छ ।
नेपाल कस्टम यार्ड (एनसीवाई) प्रयोग गर्दा भारतीय कस्टम यार्ड (आइसीवाई) को तुलनामा बढी शुल्क तिर्नुपर्ने उद्योग संगठन मोरङको एक अध्ययनले देखाएको छ ।
संगठनले एनसीवाई र आईसीवाईबाट स्पन्ज आइरन, एमएस वायर रड र एचआर सिटको आयात गर्दा कार्गो ह्यान्डलिङ र ढुवानीमा लाग्ने तुलनात्मक खर्चको अध्ययन गर्दा एनसीवाईबाट मालवस्तु आयात गर्दा आईसीवाईका तुलनामा प्रति टन ६४ देखि २०० रुपैयाँसम्म महँगो पर्ने पाइएको संगठनका महानिर्देशक चुडामणि भट्टराईले क्लिकमान्डुलाई जानकारी दिए ।
आईसीवाईबाट स्पन्ज आइरन ल्याउँदा कार्गोको लोडिङ–अनलोडिङ चार्ज र २५ किलोमिटरसम्मको ढुवानीदर प्रति टन ६६४ रुपैयाँ छ । त्यस्तै आईसीवाईमा पार्किङ शुल्क ३२ रुपैयाँ तोकिएको छ । यसरी एक टन स्पन्ज आइरन आईसीवाईबाट ल्याएर कारखानासम्म पुर्याउँदा ६९६ रुपैयाँको खर्च छ ।
यही स्पन्ज आइरन विराटनगरको आईसीपीस्थित एनसीवाईबाट ल्याउँदा प्रति टनको लोडिङ–अनलोडिङ चार्ज ४ सय र २५ किलोमिटरसम्मको ढुवानी खर्च प्रति टन ३६० रुपैयाँ गरी ७६० रुपैयाँ तिर्नुपर्छ । यसरी आईसीवाईबाट स्पन्ज आइरन ल्याउँदा प्रति टन ६९६ र एनसीवाईबाट ल्याउँदा ७६० रुपैयाँको दररेट हुँदा प्रति टन ६४ को फरक देखिन्छ । अर्थात् आईसीवाईबाट ल्याउँदा एनसीवाईका तुलनामा प्रति टन ६४ रुपैयाँ सस्तो पर्ने भट्टराईको भनाइ छ ।
एक र्याकमा कम्तीमा २५ सय टन स्पन्ज आइरन आउँछ ।
एनसीवाईबाट स्पन्ज आइरन ल्याउँदा एक टनको ६४ रुपैयाँले महँगो पर्ने अध्ययनले देखाएको छ ।
झट्ट हेर्दा टनको ६४ रुपैयाँ वा किलोको ०.०६४ पैसा खासै नलाग्न सक्छ। तर २५ सय टनको हिसाब गर्दा १ लाख ६० हजार रुपैयाँ सस्तो पर्ने देखिन्छ ।
त्यस्तै जीआई वायर, गेभियन बक्स लगायतका सामग्रीको मुख्य कच्चा पदार्थ एमएस वायर रड आईसीवाईबाट ल्याउँदा एनसीवाईका तुलनामा प्रति मेट्रिक टन १६८ रुपैयाँ सस्तो पर्ने देखिन्छ ।
आईसीवाईबाट एमएस वायर रड ल्याउँदा प्रति टनको लोडिङ–अनलोडिङ र २५ किमीसम्मको ढुवानी खर्च ४४० रुपैयाँ छ । यसबाहेक आईसीवाईमा टनको ३२ रुपैयाँ पार्किङ शुल्क छ ।
यसरी लोडिङ–अनलोडिङ, ढुवानी र पार्किङ खर्च गरेर प्रति टन ४७२ रुपैयाँको खर्च छ । यही एमएस वायर रड एनसीवाईबाट ल्याउँदा प्रति टनको लोडिङ–अनलोडिङको ४०० र ढुवानी खर्च २४० गरी ६४० रुपैयाँ तोकिएको छ । उता आईसीवाईबाट ४७२ र एनसीवाईबाट ६४० खर्च हुँदा प्रति टनको १६८ रुपैयाँ अन्तर देखिन्छ ।
सम्बद्ध उद्योगीका अनुसार एक र्याकमा कम्तीमा २६ सय टन एमएस वायर रड आउँछ । आईसीवाईबाट ल्याउँदा प्रति टन १६८ का हिसाबले एक र्याक एमएस वायर रडमा ४ लाख ३६ हजार ८ सय रुपैयाँ सस्तो पर्छ ।
फलामे सामग्रीको अर्को कच्चा पदार्थ एचआर सिट एनसीवाईबाट ल्याउँदा अझ महँगो पर्ने उद्योग संगठनको अध्ययनले देखाएको छ ।
एचआर सिटबाट सीआर सिट बनाइन्छ । सीआर सिट स्क्वायर पाइप, एङ्गल, च्यानल आदि उत्पादनको मुख्य कच्चा पदार्थ हो । यही एचआर सिट आईसीवाईबाट ल्याउँदा प्रति टनको लोडिङ–अनलोडिङसहित २५ किमीसम्मको ढुवानी ४१६ र पार्किङ चार्ज ३२ गरेर ४४८ रुपैयाँको खर्च छ ।
तर एनसीवाईबाट ल्याउँदा लोडिङ–अनलोडिङको ४ सय र २५ किमीसम्मको ढुवानीको २२० गरी प्रति टन ६२० रुपैयाँ निर्धारण गरिएको छ । यसरी एनसीवाईबाट एचआर सिट ल्याउँदा प्रति टन १७२ रुपैयाँ महँगो पर्छ । एक र्याकमा २५ सयदेखि ३ हजार टनसम्म एचआर सिट आउँछ ।
आईसीवाईबाट न्यूनतम २५ सय टन ल्याउँदा एनसीवाईका तुलनामा ४ लाख ३० हजार रुपैयाँ सस्तो पर्छ ।
ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्राइभेट लिमिटेडले आफ्नो सेवा शुल्क नघटाएसम्म कार्गो रेलबाट औद्योगिक कच्चा पदार्थ ल्याउनु र ट्रक कन्टेनरबाट ल्याउनु उस्तै हुने उद्योगीहरूको गुनासो छ ।
उनीहरूका अनुसार भारतीय यार्डको तुलनामा ट्रान्स नेपाल फ्रेट सर्भिसेजले लिने महँगो गोदाम र पार्किङ शुल्कले कार्गो रेल सेवालाई ओझेलमा पार्ने उद्योगीहरूको गुनासो छ ।





प्रतिक्रिया