
एजेन्सी । सन् २०२६ को जुनमा चीनमा सार्वजनिक भएका तस्बिरहरूमा ३५००३० सिरियल नम्बर भएको जे–३५ विमान देखिएको छ । यसले शिनयाङ एयरक्राफ्ट कर्पोरेसन (एसएसी) को उत्पादन लाइनबाट यो नयाँ जलसैनिक स्टेल्थ फाइटर जेट कम्तीमा ३० वटा बनिसकेको पुष्टि गर्छ ।
यस क्षमताको औद्योगिक आधारबारे अगस्ट २०२३ मा जानकारी आएको थियो जब एसएसीले १.२ अर्ब अमेरिकी डलर लगानी गरेर ६ वटा फुटबल मैदान जत्रो (करिब ३ लाख ७० हजार वर्ग मिटर) नयाँ एयरोनटिकल कम्प्लेक्स बनाउने महत्त्वाकांक्षा सार्वजनिक गरेको थियो ।
यति विशाल र अत्याधुनिक युद्धविमान उत्पादन क्षमता तयार भएसँगै बेइजिङले जलसैनिक शक्तिको नयाँ आयाम मानिएको ‘क्यारियर फाइभ–पिस सेट’ (विमानवाहक पोतका पाँच साधनहरू) को प्रयोग सुरु गरेको छ । यसमा स्टेल्थ क्यारियर फाइटर जेट, क्यारियर–बेस्ड फिक्स्ड विङ अर्ली वार्निङ विमान, फिक्स्ड विङ इलेक्ट्रोनिक वारफेयर विमान, मल्टिरोल क्याटापोल्ट–लन्च फाइटर जेट र एन्टी–सबमरीन वारफेयर हेलिकप्टर रहेका छन् ।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता ज्याङ बिनका अनुसार, यी पाँच साधनहरूको संयोजनले चिनियाँ क्यारियर स्ट्राइक ग्रुपको सिस्टम–अफ–सिस्टम्स लडाकु क्षमतालाई पूर्णता दिन्छ । चिनियाँ जलसेनाका तीनवटा विमानवाहक पोतहरू लियाओनिङ, सानडोङ र फुज्यानमध्ये सन् २०२५ को अन्त्यमा कमिसन भएको र तीनवटा इलेक्ट्रोम्याग्नेटिक क्याटापोल्ट जडान गरिएको फुज्यानले मात्र यस पूर्ण सेटलाई सञ्चालन गर्न सक्छ ।
क्याटापोल्ट–असिस्टेड टेक–अफले छोटो डेकबाट भारी विमानहरूलाई सजिलै उडान भर्न मद्दत गर्छ जुन पुराना स्टीम क्याटापोल्ट र स्की–जम्प र्याम्प भन्दा धेरै गुणा प्रभावकारी हुन्छ । अहिलेका लागि जे–३५ को सक्रिय तैनाथीभन्दा पनि यसका भेरियन्टहरू, विशेषगरी पाकिस्तानलाई गरिने निर्यात चासोको विषय बनेको छ ।
अमेरिकी विमानवाहक पोतको हवाई शक्तिबाट प्रभावित भएर चीनले यो अवधारणा अपनाएको हो । भूमिका र क्षमताका हिसाबले जे–३५ लाई अमेरिकी एफ–३५सीको प्रतिस्पर्धीका रूपमा अघि सारिएको छ ।
ठूलो हतियार बोक्न सक्ने जे–१५टी हेभी फाइटर जेट अमेरिकी एफ/ए–१८ई/एफ सुपर हर्नेटको जवाफ हो । चिनियाँ सञ्चारमाध्यममा हवाई–समुद्री कमान्ड सेन्टर भनिने केजे–६०० विमान अमेरिकी ई–२डी हकाईको प्रतिस्पर्धी हो भने जे–१५डिटी÷डिएचले ईए–१८जी ग्रोवलरको जस्तै इलेक्ट्रोनिक आक्रमणको काम गर्छ ।
त्यस्तै, पनडुब्बी विरोधी कारबाहीका लागि प्रयोग हुने जेड–२०एफ हेलिकप्टर अमेरिकी एसएच–६० सँग मिल्दोजुल्दो रहेको अमेरिकी रक्षा मन्त्रालयले समेत स्वीकार गरेको छ । गत वर्ष सेप्टेम्बर ३ को सैन्य परेडमा यी विमानहरूले उडान भरेपछि यिनीहरूको निकै चर्चा भएको थियो भने जिजे–२१ शार्प सोर्ड मानवरहित लडाकु विमान पनि यस टोलीमा थपिएको छ ।
समुद्री हवाई शक्तिका यी सबै तत्वहरू एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना नामक विशाल राज्य नियन्त्रित संस्थानका सहायक कम्पनीहरूले उत्पादन गर्छन् । आधुनिक क्यारियर लडाकु क्षमता निर्माण गर्न बेइजिङ पूर्ण रूपमा एभीआईसीमा नै निर्भर छ ।
अमेरिकी क्यारियर उड्डयन जस्तै क्याटापोल्ट, स्टेल्थ र लामो दूरीको प्रहार क्षमतासहित लड्न सक्ने जलसेना बनाउनु चीनको मुख्य उद्देश्य हो । यसैकारण एभीआईसीका धेरै सहायक कम्पनीहरूलाई अमेरिकाले आफ्नो प्रतिबन्धित सूचीमा राखेको छ जसले यसको अन्तर्राष्ट्रिय बजारलाई असर पारेको छ ।
तर, पाकिस्तानसँगको सहकार्यमा भने यसको कुनै असर परेको छैन ।
चीन अहिले एकैसाथ दुई फरक स्टेल्थ फाइटर परिवारहरूको क्रमिक उत्पादन गर्ने एक मात्र देश बनेको छ । सन् २०२७ सम्ममा चीनले वार्षिक ३०० देखि ४०० वटा उन्नत युद्धविमान उत्पादन गर्ने प्रक्षेपण गरिएको छ ।
पाकिस्तानले जे–३५एईका साथै केजे–५०० विमान र एचक्यु–१९ वायु रक्षा प्रणाली खरिद गर्न खोजिरहेको छ जसले उसलाई चिनियाँ पाँचौं पुस्ताको फाइटर जेट प्रयोग गर्ने पहिलो विदेशी राष्ट्र बनाउन सक्छ । त्यसैले यो पाँच–पिस सेट सैन्य शक्तिको विकास मात्र नभई ठूलो रक्षा–औद्योगिक सफलता पनि हो ।
तर, चिनियाँ एयर विङको वास्तविक क्षमता परीक्षण हुन अझै बाँकी छ । अमेरिकी जलसेनासँग ७० वर्षभन्दा बढीको निरन्तर क्याटापोल्ट सञ्चालनको अनुभव छ जुन चीनसँग छैन । सैन्य परेडमा शक्ति प्रदर्शन गर्दैमा वा अभ्यास गर्दैमा वर्षौंको अनुभवलाई रातारात हासिल गर्न सकिँदैन ।
समुद्रमा विमानवाहक डेकबाट हुने वास्तविक सञ्चालन, उडानहरू र दक्ष जलसैनिक पाइलटहरूको टोली निर्माणबाट मात्र वास्तविक क्षमता प्राप्त हुन्छ । त्यसैले जे–३५ को वास्तविक क्षमता आगामी दिनमा हुने ठूला सैन्य अभ्यास वा सम्भावित समुद्री द्वन्द्वहरूमा कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा निर्भर रहनेछ ।





प्रतिक्रिया